
पोखरा- ‘देउराली धजा रिमै
मन उतै नजा
भनेकै मान्दैन साजैलो…’
गायक प्रकाश दुतराजको पछिल्लो गीत ‘रिमै’ निकै चर्चामा छ। डिजिटल प्लेटफर्म युट्युबमा २ करोड ८० लाख पटक दर्शकले हेरेको यो गीतले प्रकाशलाई सफलताको शिखरमा पुर्याएकाे छ।
उनै दुतराजलाई मेला महोत्सवमा पुगेर सांगीतिक प्रस्तुति दिन भ्याइनभ्याइ छ। शनिबार उनले पोखरेली दर्शक स्रोतामाझ सांगीतिक साक्षात्कार गर्ने भएका छन्।
पोखराको अमरसिंह खेल मैदानमा जारि १२ औं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाशको प्रस्तुती रहन् प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए। उनका अनुसार चर्चित र्यापर भिटेनले पनि प्रस्तुति दिनेछन् ।
‘दिउँसोमा प्रकाश दुतराज मुख्य आकर्षण हुनेछन्। साँझको लाइभ कन्सर्टमा युवाहरूबीच चर्चित भिटेनको प्रस्तुति रहनेछ’, उनले भने।
शनिबार दर्शकको उपस्थिति बढी हुने भएकाले पनि पछिल्लो समय चर्चामा रहेका २ गायकको प्रस्तुति राखेको उनको भनाइ छ।
शनिबार लोकदोहोरीतर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहनेछ।
शनिबार एलिना चौहानको प्रस्तुतीमा दर्शक रमाए। चौहानले ‘कुरा काट्नेले काटुन’, ‘धोकेबाज’, ‘के माया लाग्छ र’, ‘मिनरल वाटर’, ‘डेक्ची धोइदैन’, ‘छुनुमुनु’ लगायतका गीत प्रस्तुत गर्दा दर्शक मज्जैले झुमे।
जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाईं, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुतीले पनि माहोल ततायो। साँझको लाइभ ब्याण्डतर्फ मन्त्र ब्याण्डले युवापुस्तालाई झुमायो।