
दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा इंग्ल्यान्डले स्कटल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। त्यस्तै शनिबारनै भएको दिनको अर्को खेलमा पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदै विश्वकपमा प्रभावशाली सुरुवात गर्यो।
समूह ‘बी’ मा स्कटल्यान्डमाथि ७ विकेटको जित निकाल्ने क्रममा इंगल्यान्डले १ सय ४२ बल बाँकी हूँदै ३ विकेट गुमाएर स्कटल्यान्डले दिएको १ सय ७५ रनको लक्ष्य पुरा गरेको थियो। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले कप्तान ओन गौल्डको ४८ तथा ओपनर जेमी डन्को ४० रनको मद्दतमा ४९.२ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो। इंग्ल्यान्डका फर्हान अहमेद र लुक बेनकेन्सटाइनले समान ३-३ विकेट लिए।
१ सय ७५ रनको लक्ष्य पछ्याएको इंगल्यान्डले २६ ओभर २ बलमै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। इंग्ल्यान्डका लागि कप्तान बेन म्याकीनीले ८८ तथा ज्यादन डन्लीले ४० रन बनाए। त्यस्तै नोच थियनले २२ रन बनाउँदा लुक बेनकेन्सटाइनले ११ रनको अविजित इनिङ खेले।
त्यस्तै शनिबारनै भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि फराकिलो जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। नेपाल रहेकै समूह ‘डी’ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर सहजाइब खानले १ सय ६ रनको शतकीय इनिङ खेल्दा कप्तान साद बाइगले ५५ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै राइज उल्लाले ४६ रन बनाउँदा उबाइद साहले २२ रन जोडे। अफगानिस्तानका लागि खाली अहमेदले ४ विकेट लिएका थिए।
२ सय ८५ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमानै अलआउट भयो। उसका लागि नुमन साहाको २६ रन रहँदा सोहाइल खान जर्मती र रहिमुल्लाह जुर्मतीको समान २०-२० रन रह्यो। अफगानिस्तानलाई सस्तोमै समेट्ने क्रममा अहमेद हुसेनले ४ विकेट लिंदा मोहम्मद जेसनले ३ विकेट लिए।