
दक्षिण अफ्रिकामा जारी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा साविक च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
समूह ‘ए’ अन्तर्गत भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो। १ सय ५२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५.५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटियो। बंगलादेशका लागि मोहम्मद सिहावले जमेशले ५४ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अरिफुल इस्लामले ४१ रन बनाउँदा अन्य खेलाडीको भने गतिलो प्रदर्शन रहेन। भारतका लागि सौम्य पाण्ड्याले ४ विकेट लिंदा मुसिर खानले २ विकेट हात पारेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ओपनर आदर्श सिंहको ७६ तथा कप्तान उदय सहारनको ६४ रनको अर्धशतकीय इनिङमा बंगलादेश विरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सफल भएको थियो। भारतका लागि प्रियन्सु मोलिया र अर्भेली अभिनासले २३-२३ रन बनाउँदा सचिन दासको नाममा २६ रन रह्यो। बंगलादेशका मरुफ मृधाले ५ विकेट लिएका थिए। आजै भएका अन्य खेलमा इंग्ल्यान्डले स्कटल्यान्ड तथा पाकिस्तानले अफगानिस्तानलाई हराउँन सफल भएका थिए।