
मोरङ – कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ।
आइतबार प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश अस्पताल र निजीतर्फका चार वटा अस्पतालसँग सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेका हुन्।
सरकारले विराटनगरको नोबेल शिक्षण अस्पताल, हाम्रो अस्पताल, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पताल, झापाको दमकस्थित काठमाडौँ इन्टिच्यूट अफ चाइल्ड हेल्थसँग दुई पक्षीय सम्झौता गरी निःशल्क उपचार सुरू गरेको हो। सोही क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको अन्त्य भएको बताए।
बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खोज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताको घर धाउने क्रमभंग हुने मुख्यमन्त्री कार्कीले विश्वास लिएको बताए। उनले भने, ‘अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गरेर कुनै पनि बालबालिकाको उपचार अभावमा ज्यान जान नदिन आग्रह छ।’
कार्यक्रममा मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकाले बच्चाको उपचारको लागि प्रयोग हुने उपकरणमा समस्या हुँदा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा ५ वर्षमुनिका १ हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको छ।