
पोखरा- आहा रारा पोखरा गोल्डकपमा बिहीबार मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन्। २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वार्टरफाइनलमा मच्छिन्द्र र जावलाखेल आमनेसामने हुन लागेका हुन्।
पोखरा रंगशालाको फुटबल स्टेडियममा आज दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ। मच्छिन्द्र र जावलाखेलबीचको खेलमा विजेता टोलीले क्वार्टरफाइनलमा माघ १५ गते मनाङ मस्र्याङ्दीको सामना गर्नेछ।
मच्छिन्द्र र जावलाखेलबीचको यो पहिलो आमनेसामने हो। यसअघि मच्छिन्द्रले ५ पटक सहभागिता जनाउँदा जावलाखेल युथ क्लब ३ पटक सहभागी भएको थियो। हालसम्म दुवै टिमले उपाधि जित्न सकेका छैनन्।
२२ औं संस्करणमा मच्छिन्द्र प्रिक्वार्टरफाइनलमा चर्च ब्वाइजसँग मच्छिन्द्र ३- १ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
जवालाखेल भने एक दशकपछि पोखरा आहारारा गोल्डकप खेल्न आएको हो। २०६८ मा भएको १० औं संस्करणमा आहारारा गोल्डकपमा पहिलो पटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलको यात्रा गर्न सफल भयो।
फाइनलमा पोखरामा चर्चित मनाङ मर्स्याङ्दी क्लबसँग २- ० अन्तरले पराजित भएको थियो।
मंगलबारको उद्घाटन खेलमा आयोजक साहरा क्लबलाई २- १ गोल अन्तरले पाखा लगाउदै थ्रिस्टार क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ।
बुधबारको खेलमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १- ० गोल अन्तरले पराजित गर्दै विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि अन्तिम आठमा स्थान पक्का गर्याे।
प्रतियोगितामा भुटानको लिग च्याम्पियन पारो एफसीसहित १२ टिमको सहभागिता रहेको छ। माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ।