
पोखरा – राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा २२९ मत खसेको छ। स्थानीय तहतर्फ १ मत खसेन। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानले बताए।
नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेर फरार छन्।
अबको केहीबेरमा मतगणना सुरु हुने न्यौपानेको भनाइ छ। ‘पौने ४ बजेदेखि मतगणना गर्ने तयारीमा छौं’, उनले भने।
गण्डकीमा कूल २३० मतदाता थिए।
गण्डकीमा अन्य, अल्पसंख्यक र महिला क्लष्टरमा राष्ट्रियसभा सदस्य निर्वाचन भइरहेको छ। राष्ट्रिय सभा निर्वाचनमा यहाँ चार दलका ८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोरखाका किरणबाबु श्रेष्ठ अन्य क्लष्टर, तनहुँका पदमबहादुर परियारले अपांगता÷अल्पसंख्यक र नेकपा माओवादी केन्द्रकबाट पर्वतकी मनरुपा शर्मा ९विमला० महिलातर्फको चुनावी मैदानमा उत्रिएका हुन्।
नेकपा एमालले अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठ प्रतिस्पर्धामा छन्।
गण्डकीमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाबाट १ सय ७० जना मतदाता छन्। स्थानीय तहका प्रमुख र उपप्रखुको मतभार ३ हजार २३० हुन आउँछ। तर, देवकुमार अनुपस्थित भए।
प्रदेश सभातर्फ ६० जना सदस्य छन्। जसको मतभार ३ हजार १८० मतभार हुन्छ। स्थानीय तह र प्रदेश सभा सदस्यको गरी गण्डकीमा कुल ६ हजार ४१० कुल मतभार हो।
गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ। अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्। पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए।