
सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी शतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको छ। स्वास्थ्य चौकीमा सुत्केरी गराएबापत सुविधा पाइने र गाउँमै उक्त सुविधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या शतप्रतिशत पुगेको हो।
उक्त स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी रमिता रोकाया बोहराले तीन वर्षयता स्वास्थ्य चौकी शतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको बताइन्।
उनले राज्यबाट संस्थागत सुत्केरी गराएबापत सुविधा पाइनु र सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य चौकीमा जानुपर्छ भन्ने जनचेतना वृद्धि भएकाले स्वास्थ्य चौकीलाई सो प्रगति प्राप्त भएको बताइन्।
पछिल्ला वर्षमा गर्भवतीलाई सुत्केरी ब्यथा लाग्नेबित्तिकै स्वास्थ्य चौकीमा परिवारका सदस्यले नै ल्याउने गर्नाले पनि संस्थागत सुत्केरीको महत्व र फाइदा बुझेको देखिन्छ।
यसवर्ष हालसम्म १० जना गर्भवतीको संस्थागत सुत्केरी भइसकेका छन्। गत वर्ष १८ जना गर्भवतीको यसरी सुत्केरी भएका थिए। कुनै दिन उक्त स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर पनि सुत्केरी गराउनुपर्ने अवस्था थियो। हाल भने विद्युत्को व्यवस्था भइसकेको छ।