
काठमाडौँ- विशेष अदालतले वालुवाटार जग्गा प्रकरण मुद्दा हेर्दाहेर्दैमा राखेको छ। बुधबार सुनुवाइ सके पनि फैसला भने ‘हेर्दाहेर्दै’मा राखिएको हो। बुधबार नै फैसला आउन सक्ने भन्दै पूर्वमन्त्री चन्द्रदेव जोशीसहितका प्रतिवादीहरु विशेष अदालत पुगेका थिए।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले चार बर्षअघि दर्ता भएको मुद्दाको सुनुवाइ गरेको हो।
बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी भन्दा धेरै जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा मुदा दर्ता गरेको थियो। मुद्दामा आयोगले १७५ जना प्रतिवादी बनाएको थियो जसमध्ये ६५ जनालाई जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाएको थियो।
त्यसबेलाका उपप्रधान तथ भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशीबिरुद्ध मुद्दा दायर भएको थियो।
त्यस्तै यो भ्रष्टाचारमा संलग्न रहेको आरोपमा तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँ, चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमबिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो।