
काठमाडौँ- भारतीय नागरिकलाई अमेरिका पठाउने भन्दै काठमाडौँमा बन्धक बनाएर राखेको आरोपमा ८ भारतीय र १ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ प्रहरीले बिहीबार ती नौजनालाई सार्वजनिक गरेको हो। ती नौजनाले बन्धक बनाएर राखेका ११ जना भारतीय नागरिकको पनि प्रहरीले उद्धार गरेको छ।
अमेरिका पठाइदिने भन्दै काठमाडौँको एक घरमा बन्धक बनाएर परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र कुटपिट तथा यातनासमेत दिने गरिएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्रीका अनुसार भारतीय नागरिक इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा पक्राउ गरेका हुन्। नेपाली नागरिकको नाम भने खुलाइएको छैन। यीमध्ये यादव यसका प्रमुख योजनाकार हुन्।
पक्राउ परेका ती भारतीयहरुले अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै घरबाट पैसा मगाउने गरेको प्रहरीले जानकारी दिएको छ।
घरको पर्दा, घडीलगायतका सामान मेक्सिकोको जस्तो देखिने गरी सेटिङ मिलाइएको जानकारी पनि प्रहरीले दिएको छ।
तस्बिरहरु: