पोखरा – पोखराको महेन्द्रपुलमा झन्डा पार्क बनाइएको छ। पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९३ राष्ट्रका झन्डा फहराएका छन्।
सेती नदीको डिलमा रहेको जग्गामा बनेको पार्क लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिकको लगानीमा बनेको हो।
सोमबार पोखरा महानगरपालिकालाई पार्क हस्तानतरण गरिएको छ। झन्डै २ रोपनी क्षेत्रफलमा बनेको पार्कको उद्घाटन पश्चात लायन्स क्लब इन्टरनेशनलका निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई हस्तानतरण गरे।
पार्कमा झन्डासँगै देशको नाम र संयुक्त राष्ट्रसंघ (युएन) बाट सदस्यता पाएको मिति उल्लेख छ। त्यो देश कुन महादेशमा पर्छ भन्ने समेत खुलाएर लेखिएको छ।
झन्डा पार्क बनाइएको स्थानमा पहिला पोखरा सार्वजननिक पुस्तकालय थियो। गत वर्ष भदौ २३ मा पोखराका मेयर धनराज आचार्य डोजर एक्सनमा उत्रदै महेन्द्रपुलको पुस्तकालय र पोखरा आर्ट ग्यालरी भत्काए थिए। मापदण्डविपरीत र जीर्ण भवन रहेको जग्गा महानगरकै नाममा स्वामित्वमा छ।
पुस्तकालय हटाएर निर्माण गरिएको झन्डा पार्कमा झन्डै ७० लाख रुपैयाँमा लगानी भएको छ।
पार्कको पृष्ठभूमिमा माछापुच्छ्रे हिमालको दृश्य कोरिएको छ। पार्कमा महानगरपालिकाको लगानीमा पाठकले पत्रपत्रिका पढ्न पाउने व्यवस्था मिलाइएको छ। डिजिटल मिडियाका खबर पढ्नलाई फ्री इन्टरनेटसहितको मोनिटर पनि महानगरले जोडेको हो।
झन्डा पार्क पोखरामा नयाँ ‘डेस्टिनेसन’ भएको मेयर आचार्यले बताए। झण्डा पार्क युएनको पार्कबाहेक संयुक्त राष्ट्रको हेडक्वार्टरमा मात्रै भएको उनले दाबी गरे।
‘पोखरा पर्यटनको राजधानी हो, हामी औपचारिक रुपमा घोषणा गर्दैछौं। संसारभरीका मान्छेहरु यहाँ आउँछन् उनीहरुलाई एउटा अपनत्व फिल पनि हुने। सेती नदी खोंच हेर्ने गन्तव्य हुनेछ’, उनले भने। पर्यटक केही घण्टा पार्कमा रमाउने उनको भनाइ छ।
झन्डाको बारेमा प्रत्यक्ष अवलोकनमार्फत अध्ययन गर्न महानगरभित्रका विद्यालयले एक दिन सामाजिक विषयअन्तर्गत भ्रमण गर्नुपर्ने बाध्यकारी नियमसमेत बनाइएको छ। झन्डा पार्कले पर्यटक तान्नेमा दुईमत नभए पनि स्थानको छनोट गलत भएको भन्दै आलोचना भएको छ।
पोखरा आर्ट ग्यालरीको भवन भत्काएको स्थानमा भने पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो।
झन्डै एक करोड रुपैयाँका लागतमा निर्माण भएको आधुनिक प्रविधिजडित सार्वजनिक शौचालय मर्मत र बायोग्यास प्लान्ट जडान गर्न केही हप्तादेखि बन्द अवस्थामा रहेको छ।