
काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिको उपाधि नेपाल पुलिस स्कुल साँगाले जितेको छ। एपीएफ स्कुल कीर्तिपुरको आयोजनामा मंगलबार सम्मपन्न प्रतियोगिताको फाइनलमा पुलिसले आयोजक एपीएफ स्कुल कीर्तिपुरलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै उपाधि जितेको हो।
एपिएफ स्कुलले १९औँ स्थापना दिवसको अवसरमा ‘प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता’ को आयोजना गरेको थियो। प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
मंगलबार फाइनलपछि महानिरीक्षक अर्यालले प्रतियोगिताका बिजेता तथा उपबिजेता टिम र उपाधी हासिल गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र, ट्रफी वितरण गरेका थिए। उनले विद्यालय स्तरबाटै फुटबल विकासमा स्कुलले गरेको प्रयासको प्रसंसा गरेका थिए।
प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका दिप्सन परियार उत्कृष्ट गोलरक्षक र नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पाले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरे। सैनिक आवासीय महाविद्यालयका दिग विजय शाहीले उच्च गोलकर्ताको रुपमा गोल्डेन बुट प्राप्त गर्दा फेयर प्लेको उपाधी सैनिक आवासीय महाविद्यालयले प्राप्त गर्न सफल भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले प्रतियोगितालाई मर्यादित, अनुशासित र नियमसंगत तवरबाट सम्पन्न गराउन सहयोग गर्ने सबैलाई आभार ब्यक्त गरेका थिए।
प्रतियोगिता गत २२ माघदेखी संचालन भएको थियो। प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको सहभागिता रहेको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो।