
सिमकोट – सिमकोट गाउँपालिकाअन्तर्गत १० वटा विद्यालयका कक्षा आठ विद्यार्थीले पहिलो पटक पूरक परीक्षा दिएका छन्। सो परीक्षा पुर्ब निर्धारित भएको कारण यही बेला हिमपात भएको कारण चिसो बढे पनि विद्यार्थीहरुले परीक्षा दिनै परेको हो।
विद्यार्थीले तापक्रम माइनस १२ डिग्री सेल्सियसमा पूरक परीक्षा दिनुपर्दा निकै सास्ती खेप्नुपरेको बताए। चिसोका कारण हात कमाउँदै परीक्षा दिनुपर्दा विद्यार्थीले खुलेर आफूलाई मनमा आएको विषय लेख्न नसकेको जानकारी दिए।
बाहिर हिमपात भइरहेकाले चिसो अत्यधिक बढेको थियो। परीक्षा केन्द्र मानसरोवर माविमा सञ्चालन भइरहेको छ। परीक्षा सञ्चालक सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्वा कृष्णप्रसाद आचार्यले माइनस तापक्रममा परीक्षा दिनुपर्दा विद्यार्थीले समस्या भोगेको भन्दै परीक्षा भने दिनै पर्ने बाध्यता रहेको बताए।
परीक्षाका लागि कुल ७१ जना विद्यार्थीले परीक्षा फर्म भरेकोमा एक जना भने अनुपस्थित थिए। परीक्षाको पहिलो दिन अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयको परीक्षा सञ्चालन भएको थियो। गाउँपालिका स्तरको आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड ०७६ अनुसार शाखाले पहिलो पटक यसरी पूरक परीक्षा सञ्चालन गरेको हो। लेटर ग्रटिङ निर्देशिका ०७८ अनुसार पूरक परीक्षा सञ्चालन भएको हो। सो परीक्षा शाखाले १० वटा विद्यालयका लागि गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गरेको थियो।
पुस १६ गतेबाट सञ्चालन भएको परीक्षाको माघ ५ गते नतिजा प्रकाशन गरिएको थियो। परीक्षाको नतिजा निकै खस्कँदो आएकाले शाखाले नियमानुसार पहिलो पटक पूरक परीक्षा सञ्चालन गरेको हो।
परीक्षा भोलि पनि सञ्चालन हुनेछ र परीक्षामा २६ जना परीक्षार्थीले परीक्षा सहभागिता जनाउनेछन्। परीक्षामा कान्ति आधारभूत, मानसरोवर, बालमन्दिर, कैलाश, कर्णाली, सैपाल, सिद्धार्थ, रलिङ र रामदेश मावि र संस्थागत विद्यालयका तर्फबाट सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीले सहभागिता जनाउँदै छन्।