
काठमाडौं- नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती गर्नु नहुने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद शर्माले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती गर्नु नहुने बताएकी हुन्।
उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आनाकानी गर्दै जाने हो भने अन्तर्राष्ट्रिय रूपमा नेपालमाथि प्रश्न उठ्न सक्ने बताइन्। उनले यो कामलाई कुनै विवादको रुपमा नलिइ छिटो टुंग्याउनुपर्नेमा जोड दिइन्।
उनले शान्ति प्रक्रियाको काम सम्पन्न गर्न सरकारले पहलकदमी लिनुपर्ने र सदन पनि यसप्रति गम्भीर हुनुपर्ने बताइन्।
सांसद शर्माले भनिन् , ‘अब पनि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलासुस्ती गर्दै जाने हो भने, पछाडि पार्दै जाने हो भने अन्तर्राष्ट्रिय रूपमा पनि नेपालमाथि प्रश्न नउठ्ला भन्न सकिँदैन। त्यसकारण यसलाई सामान्य रूपमा नलिएर, विवादको कुरामा नलिएर, छिटोभन्दा छिटो टुंग्याउनको निम्ति सरकारले पहलकदमी अगाडि बढाओस्। र सदनले यो प्रति गम्भीर हुन जरुरी छ। सरकारको कहाँ ध्यान जानु जरुरी छ भने, भुमि ऐन, गुठी ऐन, वन ऐन अत्यन्त आवश्यक छ। र जरुरी छ । यसलाई ढिलासुस्ती र पछि पार्ने होइन।’
उनले सरकारले भूमि ऐन, गुठी ऐन र वन ऐन जस्तो महत्त्वपूर्ण ऐनहरूलाई पनि छिटोभन्दा छिटो ल्याएर सुकुम्वासी र भूमिहीनहरूको समस्या समाधान गर्नुपर्ने पनि बताइन्।