
सिमकोट – तापक्रम माइनस १२ डिग्री सेल्सियसमा सिमकोट गाउँपालिकाका कक्षा आठ विद्यार्थीले पहिलो पटक पूरक परीक्षा दिएका छन्। सो परीक्षा पूर्वनिर्धारित भएको कारण यही बेला हिमपात भएकाले चिसो बढे पनि विद्यार्थीले परीक्षा दिनै परेको हो।
विद्यार्थीले तापक्रम माइनस १२ डिग्री सेल्सियसमा पूरक परीक्षा दिनुपर्दा निकै सास्ती खेप्नुपरेको परीक्षामा सहभागी विद्यार्थी जानकी शाहीले बताइन्। चिसोको कारण हाम कमाउँदै परीक्षा दिनुपरेपछि विद्यार्थीले खुलेर आफूलाई मनमा आएको विषय लेख्न नसकेको उनको भनाइ थियो।
विद्यार्थी परीक्षा हलमा बाक्ला कपडा लगाएर प्रवेश गरेका थिए। बाहिर हिमपात भइरहेका कारण चिसो भने अत्यधिक बढेको थियो।
परीक्षा केन्द्र मानसरोवर माविमा सञ्चालन भएको हो। परीक्षा फागुन ९ गतेबाट सञ्चालन भएको थियो भने आज सकिएको छ। परीक्षा सञ्चालक सिमकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्वा कृष्णप्रसाद आचार्यले माइनस तापक्रममा परीक्षा दिनुपर्दा विद्यार्थीले समस्या भोगेको बताउँदै तैपनि परीक्षा दिनै पर्ने बाध्यता भएकाले दिएको बताए। केन्द्राध्यक्ष अमरबहादुर शाहीले परीक्षाका लागि कुल २६ जना विद्यार्थीले परीक्षा फर्म भरे पनि २५ जना सहभागी भएकोे बताए।
परीक्षाको दोस्रो दिन स्वास्थ्य तथा शारिरीक शिक्षा, विज्ञान र गणित विषयको परीक्षा सञ्चालन भएको थियो। गाउँपालिका स्तरको आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७६ अनुसार शाखाले पहिलो पटक यसरी पूरक परीक्षा सञ्चालन गरेको हो।
लेटर ग्रटिङ निर्देशिका २०७८ अनुसार पूरक परीक्षा सञ्चालन भएको हो। सो परीक्षा शाखाले दश वटा विद्यालयका लागि गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गरेको थियो।
पुस १६ गतेबाट सञ्चालन भएको परीक्षाको माघ ५ गते नतिजा प्रकाशन गरिएको थियो। परीक्षाको नतिजा निकै खस्कँदो आएका कारण शाखाले नियमानुसार पहिलो पटक पूरक परीक्षा सञ्चालन गरेको हो।
परीक्षामा कान्ति आधारभूत, मानसरोवर, बालमन्दिर, कैलाश, कर्णाली, सैपाल, सिद्धार्थ, रलिङ र रामदेश मावि र संस्थागत विद्यालयका तर्फबाट सनसाइन बोडिङ स्कुलका विद्यार्थीले सहभागिता जनाएका छन्।