
पोखरा – पोखरा महानगरपालिकाले बनाएको नयाँ भवन तथा पूर्वाधार मापदण्डले सेती नदीको मापदण्ड २० मिटर घटाएको छ। अब सेती नदीको मापदण्ड ३० मिटरमा भएको छ। नयाँ मापदण्ड लागु भएपछि नदी छेउछाउका बस्तीलाई भने राहत मिल्नेछ।
भूकम्पपछि जारी बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ ले सेतीको मापदण्ड ५० मिटर कायम गरेको थियो।
पोखरा महानगरपालिकाले हालै सार्वजनिक गरेको नयाँ मापदण्डमा २० मिटर घटाइएको छ। एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको मापदण्ड महानगरपालिकाले राजपत्रमा प्रकाशित गर्न भने ढिलाइ गरिरहेको छ।
सेती नदीको सवालमा पुरनाचौरदेखि कोत्रेसम्म एउटै मापदण्ड तोकेको पोखरा महानगरपालिकाका घर नक्सा शाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेलले बताए। उनका अनुसार पूरानो मापदण्डमा ५ देखि ५० मिटर तोकिएको थियो। ‘ठाउँ अनुसार फरक–फरक थियो। अहिले सबै एकनास बनाएका छौं’, पौडेलले भने।

पोखराको याम्दीबाट देखिएको सेती नदी र हिमालको दृश्य । तस्बिर सौजन्यः राधिका कँडेल
पोखराको महेन्द्रपुल क्षेत्रको हकमा भने अहिले पनि ५ मिटर तोकिएको छ। ५ मिटर पुराना संरचनाको हकमा मात्रै लागु हुने पौडेलले जानकारी दिए। उनले थपे, ‘अब नयाँ बन्नेलाई ३० मिटर नै मापदण्ड लाग्छ।’
सेतीसँगै मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको पनि ३० मिटर तोकिएको छ। सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर नयाँ मापदण्डले तोकेको छ। बगादी, तालखोला र बेगनासताल खोलाको ७ मिटर लागु हुनेछ।
यस्तै, फिर्केखोलाको पनि मापदण्ड घटाइएको छ। फिर्केको मापदण्ड ६ मिटर तोकिएको हो। बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्डलाई आधार मानेर महानगरले २०७५ पुस ६ देखि फिर्केखोलाको किनारबाट दुवैतर्फ १०/१० मिटर छोड्नुपर्ने मापदण्ड बनाएको थियो। त्यसपछि २०७६ मंसिर १४ गते भएको कास्की २ को उपनिर्वाचनको संघारमा १० मिटरको मापदण्डलाई एक मिटरमा झार्ने एउटा आन्तरिक सहमती निकै विवादित बनेको थियो। तत्कालीन मेयर मानबहादुर जिसीको पालामा भएको उक्त निर्णय पछि फिर्ता नै लिनुपर्यो।
फिर्केको मापदण्ड २०७२ सालअगाडि पनि ६ मिटर नै रहेको वरिष्ठ इञ्जिनियर पौडेलले दाबी गरे। फिर्केको १० मिटर मापदण्ड अव्यवहारिक भएको भन्दै स्थानीय र सम्बन्धित वडाका जनप्रतिनिधिले निवेदन दिएकाले नयाँ मापदण्डमा घटाएको उनको भनाइ छ। ‘निर्देशिका लागू भएसँगै पब्लिकको धेरै प्रेसर आएको थियो। सम्बन्धित वडा र स्थानीयले मापदण्ड धेरै भयो भनेर निवेदन दिनुभयो’, उनले भने, ‘१० मिटर मापदण्ड व्यवहारिक थिएन भन्ने भयो, वैज्ञानिक बनाउन घटाइएको छ।’
पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको खोलाघर मिचेर १६० संरचना बनेका छन्। साउन ३ गतेदेखि नापजाँच सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले ३२ दिन लगाएर फिर्केको खोलाघर नापेको थियो।
त्यतिबेला खोलाघरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी ५८८ सीमा स्तम्भ गाडिएको छ। खोलाको दायावाँया ६/६ मिटर मापदण्ड कायम गर्दा झन्डै ३ सय संरचना भत्काउनुपर्ने अनुमान छ। फिर्केसँगै बुलौदी र पोखरा हुँदै बग्ने खोल्साखोल्सीको ६ मिटर मापदण्डमा खुलाइएको छ।
फेवातालको सम्बन्धमा भने सर्वोच्च अदालतको आदेशअनुसार ६५ मिटर नै कायम हुनेछ। असार ४ गते सर्वोच्चले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न आदेश दिएको थियो।
तत्कालिन मेयर मानबहादुर जिसीको पालामा २०७८ चैत १६ गते फेवातालको मापदण्ड ६५ मिटरबाट ३० मिटरमा झार्ने कार्यपालिकाले निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो।
महानगरको निर्णय बदर गर्दै भएको फैसलामा सर्वोच्चले पानीको उच्चतम बहाव रहेको वर्षायाममा नापेर ६५ मिटर क्षेत्रभित्रको संरचना ६ महिनाभित्र भत्काउन आदेश दिएको छ। फेवातालको मापदण्ड कार्यन्वयन गराउन मंसिर पहिलो साता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएकोे थियो। समितिले हालसम्म परिणाममुखी काम गर्न सकेको छैन।
बेगनास र रुपातालको हकमा भने चारैतिर सिमानामा एक सय मिटर जग्गाको सतहको बनोट नाप्ने उल्लेख छ। नयाँ मापदण्डले दिपाङ, मैदी, गुदे, खाष्टे, न्युरेनीको ५० मिटर कायम हुनेछ।
यस्तै, ठूलीपोखरी, कास्कीकोट, कमलपोखरी, बुडुवाफाँट, खुडेपोखरी पर्स्याङलगायत पोखरीहरुको ६ मिटर मापदण्ड तोकिएको छ।
नयाँ बनेको मापदण्डले पोखराको जुनसुकै स्थानमा ५ तलासम्मका घर निर्माणका लागि अनुमित दिनेछ। ३ तलाभन्दा अग्ला घर बनाउन अनिवार्य माटो परीक्षण गर्नुपर्ने घरनक्सा शाखा प्रमुख वरिष्ठ इञ्जिनियर पौडेलले बताए।
त्यो भन्दा अग्ला घरका लागि पनि सडक र जग्गालाई आधार मानिनेछ। ‘बाटो चाक्लो र धेरै जग्गा हुनेले अग्ला घर बनाउन पाउनेछन्’, उनले खुलाए।
वडाअनुसार सडकको छुट्टाछुट्टै मापदण्ड तय भएको छ। भुगोलअनुसार वडामा सडकको मापदण्ड बनाएको महानगरपालिकाले जनाएको छ।
विमानस्थल प्रभावित क्षेत्र र पोट्रोलपम्पको पनि नयाँ मापदण्डमा खुलाइएको छ।
३० मिटरभन्दा कम चौडाइ भएका साना सडकबाट पेट्रोलपम्पको न्यूनतम दूरी ५० मिटर हुनुपर्नेछ। ३० मिटर बढी चौडाइ भएका सडकको हकमा एक सय मिटर तोकिएको छ। ग्राउण्ड कभरेजको गणना बाटोको क्षेत्राधिकार र सेटव्याक छाडेर बाँकी जमिनको क्षेत्रफलमा आधरित हुने उल्लेख गरिएको छ।
यसअघि प्राध्यापक डा. भरतराज पहारी नेतृत्वको टोलीले पोखरा महानरभित्र भवन, भीर, खोलानालाको मापदण्ड तोकेर प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवदेनमा आधरित रहेर थप अध्ययन गर्दै नयाँ मापदण्डलाई अन्तिम रुप दिएको मेयर धनराज आचार्यले बताए।
नयाँ मापदण्डले अन्यत्रभन्दा फरक उर्जा प्रभावकारी भवनको परिकल्पना गरेको उनको भनाइ छ। ‘संसारमा भएका नयाँ प्रयोगहरु अगाडि ल्याउन सकेनौं भने हामी पछाडि पर्छौं नै’, उनले भने।
मेयर आचार्यका अनुसार पोखरामा १० तलाभन्दा माथिका १९ वटा भवन ठडिएका छन्। ती भवनले सम्पन्नताको कागज भने नपाएको उनले बताए।