जो संगीतका ज्ञानी, सुरका धनी थिए

+
-

जीवनमा मृत्युलाई जितेर पटक—पटक फर्किन सकिन्न। यस्तै भयो— प्रख्यात गायक भक्तराज आचार्यसँग। उमेरको ८१ औं वसन्त, वसन्तयामको फागुन १४ गते, सोमबारे अपरान्ह मृत्युलाई जित्न अस्पताल हिँड्दाहिँड्दै ब्रह्मलीन भए उनी। भौतिक रूपमा उनी नरहे पनि उनको आवाज यो लोकमा भने गुन्जिरहने छ। मृत्युले पनि मार्न नसक्ने उनको स्वरमा सजिएको सर्वश्रेष्ठ गीत गजलहरू अमर छन्।  र, उनी बाँचिरहने छन् आफ्ना सिर्जनामा।

तीसको दशक नेपाली गीतसंगीतको उर्वर समय अर्थात सुगम संगीतको स्वर्णीम युग। अम्बर गुरुङ, नारायण गोपाल, शिवशंकर, पुष्प नेपाली, तारादेवी, शान्ति ठटाल, फत्तेमान राजभण्डारी, नातीकाजी, गोपाल योञ्जन, बच्चु कैलाश, प्रेमध्वज प्रधान अनि भक्तराज आचार्यको आवाजको युग।

१९९९ सालमा जन्मिएका आचार्य धनकुटा हुँदै वि.सं २०३० सालमा काठमाडौंमा आए र ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा भाग लिए । ‘होसियार यस बखत समयको मुखलाई चिन’ गीत गाएर प्रथम भएपछि उनी रेडियो नेपालमा जागिरे नै भए। त्यसयता २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरे। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए।

पछिल्लो तीस वर्षयता भक्तराज बाध्यताले घरभित्रै थिए। उनको जीवन अलिकति कष्टपूर्ण नै बित्यो। कहिले कुटपिटमा परे, कहिले रोगमा परे। र त, उनले आवाज मात्रै गुमाएनन्। जिब्रोसमेत गुमाउनु पर्‍याे। एउटा गायकको मृत्यु त्यतिखेर नै हुन्छ, जतिखेर आवाज खोसिन्छ ।

भक्तराजको २०४९ सालमा जिब्रोमा खटिरा देखिएपछि उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि उनको जीवनमा नचिताएकै अर्को बज्रपात पर्‍याे। स्वर र सुर नै गुमाउनु पर्‍याे। उनका हातले हार्मोनियमका तारहरू चलाए पनि गाउन सकेनन्। यो लामो कष्ट पनि उनले भोग्नुपर्‍याे।

२०४६ सालको एक साँझ बौद्धमा उनीमाथि सांघातिक हमला भएपछि भक्तराजका टाउकोमा झन्डै सयभन्दा बढी टाँका लगाइएको थियो।संगीतमात्रै गुन्जिने उनको घरको माहोल शून्य भयो। संगीतको गुञ्जन सुनिने कोठामा सन्नाटा छायो। ७ महिनासम्म टाउकोको अप्रेसन गरेर हस्पिटलै बसे उनी।

भक्तराजकाे त्यो अवस्थामा सबैभन्दा बढी प्रभावित भइन् उनकी श्रीमती। श्रीमानको त्यो अवस्था। सबै हेर्नुपर्ने, अस्पतालदेखि स्याहारसुसारसम्म। अनि दुई छोराको पढाइ, पालनपोषणसम्मको जिम्मेवारी। अचानक सत्य अनि स्वरूप सरकारी स्कुल पढ्न थाले। अस्पतालमा उपचारकै क्रममा उनलाई भेट्न गइरहने गायक, संगीतकार तथा गीतकारको आउजाउ बाक्लै थियो। तीमध्ये एक थिए— कवि/गीतकार दिनेश अधिकारी।

भक्तराजले एउटा गीत खुबै सम्झिएको बताउँछन्  अधिकारी। उनी भन्छन्, ‘दाइको जीवनमा केही न केही घटना घटिरह्यो। बौद्धतिर भएको एक दुर्घटनाबाट जोगिएपछि उहाँले यस्तो अभिव्यक्ति दिनु भएको रहेछ— मेरो जीवनसँग सबभन्दा नजिकको गीत लेखिदिए। मेरो भविष्य पहिले नै देखेको रहेछ दिनेशले।

तीसको दशकमा गायक—गीतकारको जम्बो टोली भेटिने थलो थियो—रेडियो नेपाल। रेडियो नेपालकै प्रागंणमा एक बिहान भेटेका थिए दिनेशले गायक भक्तराजलाई। उक्त भेटपश्चात् दुवैजनाबीच भेटघाट बाक्लिएको रहेछ। दिनेश त्यो क्षण सम्झिन्छन्, ‘२०३८ सालतिरको कुरा हो, म रेडियो नेपाल गएको बेला दाइसँग भेट भएको थियो। त्यतिखेर त उहाँका गीतहरू खुबै चर्चित थिए। त्यसपछि हाम्रो भेटघाट बाक्लियो। संयोगले मेरो गीत गाइदिनु भयो।’

जीवन भनूँ त घात छ ।।
मृत्यु भनूँ त सास छ ।

भक्तराज नेपाली गायन परम्परामा अलग पहिचान भएको गायक लाग्छ दिनेशलाई। भन्छन्,  ‘व्याकरणका दृष्टिकोर्णले समेत शुद्ध गाउने, लेख्ने क्षमता भएको गायक हुनुहुन्थ्यो।’ उनका अनुसार गायक भक्तराज गायकमात्रै नभएर प्रख्यात संगीतकार पनि थिए।  भन्छन्,  ‘भक्तराज दाइ गायकका साथै संगीतकार पनि हुनुहुन्थ्यो। उहाँको गायन र संगीतलाई फरक पारेर हेर्नै सकिन्न अथवा उहाँबाट दुई विद्यालाई छुट्याउन सकिन्न।’

भक्तराजको २०४९ सालमा जिब्रोमा खटिरा देखिएपछि उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि उनको जीवनमा नचिताएकै अर्को बज्रपात पर्‍याे। स्वर र सुर नै गुमाउनु पर्‍याे। उनका हातले हार्मोनियमका तारहरू चलाए पनि गाउन सकेनन्। यो लामो कष्ट पनि उनले भोग्नुपर्‍याे।

गायक भक्तराजले जीवनमा चार सय गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाए। चार सय गीतमा थप कयौं गीत थपिन्थ्यो होला सायद क्यान्सरले उनको जिब्रो काटिनु पर्थेन भने। कोरस गायनबाट गायनयात्रा सुरु गरेका थिए । त्यो समय तीन सय धेरै थियो। दुःख हुन्थेन। तर उनलाई आफ्नै भाग्यले दुःख दियो। उनले कतै भनेका थिए— म साह्रै अभागी मान्छे हुँ।

भारतको डुबर्सबाट १ सय भारु लिएर नेपाल आएका भक्तराजले रेडियो नेपालमा स्वर परीक्षा गरेपछि पछाडि फर्किनु परेन। अम्बर गुरुङ, नारायण गोपाल र बच्चु कैलाश निर्णायक भएको प्रतियोगितापछि उनले राम्रै सहकार्य गरेको कतै भनेका छन्। गीतकार भूपेन्द्र खड्कासँगको कुराकानीमा गायक भक्तराजले भनेका छन्— अम्बर गुरुङसँग त्यसपछि केही गीतमा मात्रै सहकार्य भयो। नारायण गोपाल र म असाध्यै मिल्थ्यौं। उनी अरूको प्रशंसा खासै गर्दैनथे। हाम्रा कमजोरीहरूबारे छलफल हुन्थ्यो। खासमा उनी राम्रा गायक हुन् तर उनको एउटा ठूलो कमजोरी थियो, उच्चारणको। एकपटक नातिकाजीको कोठामा उनलाई मैले उनको उच्चारणबारे भनेको थिएँ। गलत उच्चारणले फरक अर्थ लगाउँछ भन्दै मैले ईश्वरवल्लभको गीत ‘मेरो बेहोसी आज…’ को अन्तरा ‘यो ‘नसा’ जिन्दगीको या हो ‘नशा’ रक्सीको…’ मा उच्चारण एउटै छ। यी शब्दको अर्थ एउटा ‘रक्तनली’ हो भने अर्को ‘मात’ हो। त्यसैले यिनको उच्चारण फरक हुनुपर्छ भन्दा उनी मुसुमुसु हाँसिरहे, कुनै प्रतिक्रिया दिएनन्। नातिकाजी र शिवशंकर मुखामुख गरे। बच्चु कैलाश भने कम बोल्ने, घुलमिल कम हुने स्वभावका थिए। अहिले पनि घरभित्रै छन् क्यार!

६ महिनादेखि एक वर्षमा रेकर्डिङको पालो आउँथ्यो  गीत रेकर्ड गर्न रेडियो नेपालमा स्वर परीक्षा पास गरेका व्यक्तिले मात्रै पाउँथे। स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए। स्वर परीक्षा पास गरेका गायक/गायिकाले पनि आफू खुसी रेकर्ड गर्न मन लागे भारतको मुम्बई र कोलकता पुग्नुपर्थ्याे। त्यसैले उक्त समयका चलचित्रका अधिकांश गीत मुम्बई र कोलकतामा रेकर्ड भएका छन्।

गीतकार खड्काका अनुसार भक्तराज सुर—स्रमाट हुन्। यस्तो भजन गायक जो सेतुराम र मोतीराम पछि गजल गायनमा भक्तराज आए। उनी भन्छन्, ‘तीसको दशकदेखि उहाँको गायन सुरु भए पनि उहाँले मोतीराम भट्टको गजल रेकर्ड गर्नुभयो, जुन सेतुरामपछि उहाँलाई गजलमा सम्झिनुपर्छ।’

नेपाली संगीतको उर्वर समय थियो तीसको दशक। अम्बर गुरुङ र गोपाल योञ्जन दार्जिलिङबाट आएका थिए। र नेपालमा रहेका नारायणगोपाल, बच्चु कैलाश माणिक रत्न, पुष्प नेपाली, प्रेमध्वज प्रधान, गायक थिए। खड्का भन्छन्— त्यो समय नारायण गोपाललाई नै टक्कर दिने कोही गायक हुनुहुन्थ्यो भने भक्तराज आचार्य नै हो।’

गायक भक्तराज आचार्यकाे जीवनमाथि लेखिएको किताब अन्तिम चरणमा पुगेको छ। बुकहिलले प्रकाशन गरेको आचार्यको किताबलाई शुभदिन हेरेर सार्वजनिक गर्ने तयारी रहेको खड्काले बताए।

‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका भक्तराजले ‘एकदिन मैले प्रभुसँग सोधें’, ‘तन मन वचनले’, ‘सब निदाए प्रभु’ लगायत थुप्रै लोकप्रिय भजन गए । भजन गायनलाई एउटा उचाइमा पुर्‍याएकाे जस पनि जान्छ उनलाई। भक्तराजले रेडियो नेपाललाई ठूलो योगदान दिएको बताउँछन् गायक दीप श्रेष्ठ। त्यो समय रेडियो नेपालमा मात्रै गीत हुने भएकाले पनि वर्षौं पर्खिनु पर्ने अवस्था थियो। उनका अनुसार रेडियो नेपालमा मात्रै गीत रेकर्डिङ हुने भएकोले तोकिएको समयमा मात्रै रेडियो नेपालमा दिएको डेटमा गीत रेकर्ड हुन्थ्यो।

‘त्यो समय आफूलाई रेकर्डिङका लागि दिएको डेटमा कोही आएन भने भक्तराज आचार्यले गीत रेकर्ड गरिहाल्नुहुन्थ्यो। जुन अरू कसैले पनि गर्दैन्थे,’ उनले भने।

६ महिनादेखि एक वर्षमा रेकर्डिङको पालो आउँथ्यो  गीत रेकर्ड गर्न रेडियो नेपालमा स्वर परीक्षा पास गरेका व्यक्तिले मात्रै पाउँथे। स्वर परीक्षा पास नगरेका व्यक्तिले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गर्न पाउँदैन थिए। स्वर परीक्षा पास गरेका गायक/गायिकाले पनि आफू खुसी रेकर्ड गर्न मन लागे भारतको मुम्बई र कोलकता पुग्नुपर्थ्याे। त्यसैले उक्त समयका चलचित्रका अधिकांश गीत मुम्बई र कोलकतामा रेकर्ड भएका छन्।

गायक श्रेष्ठ भन्छन्, ‘भक्तराजजीसँग जहिल्यै पनि गीतसंगीत स्टक हुन्थ्यो। गाउनका लागि तयारी अवस्थामा उहाँसँग सिर्जना (गीतसंगीत) हुन्थे। रेडियो नेपालमा धेरै कलाकार थिए तर कसैले पनि त्यो काम गरेन। त्यसैले रेडियो नेपालले उहाँलाई अझै धेरै सम्मान र मूल्यांकन गर्नुपर्थ्याे। तर गरेन।’

चलचित्र आचार्यले गायक भक्तराजकाे संघर्षको धेरै पाटा देखाएको छ। जस्तै, उनले चिया बगानमा गीत गाए। कहिले नारायण गोपालको ‘गल्ती हजार हुन्छन् यहाँ होस गुमेको बेला’ सुनेर रोए। आफ्नो गायक बन्ने सपना बोकेर काठमाडौं आउँदा काँधमा हार्मोनियम र एउटा टिनको बाकस बोकेर काठमाडौं पसेका थिए भक्तराज। उनले एउटा सानो कोठाका, चिसो कोठाका भित्तालाई गीत सुनाए। घरबेटीलाई गीत सुनाए। घरबेटीको पसलमा आउनेलाई रक्सीसँग झुम्म हुने गरेर गीत सुनाए।

नेपालमा मात्रै नभएर भारत र पाकिस्तानी गायक/गायिकामा पनि भक्तराजको स्वरको जादु छाएको थियो। नेपालमा गुलाम अलीको कार्यक्रममा भक्तराजले गीत गाउँदा उनी जुरुक्क उठेर ‘नेपालमा पनि तपाईं जस्तो गवैया रहेछ’ भनेर स्टेजमा अँगालो मारेका किस्सा पनि सुन्न पाइन्छ।

साई भजनका चर्चित गायक रविराज नासेरी नेपाल आउँदा भक्तराजकाे घरमै आएर खुट्टा ढोगेर गएका थिए। उता भारतमा भजन गाउँदा भक्तराजका भजनहरू पनि गाउने रहेछन्। अहिले पनि भारत र पाकिस्तानका राम्रा गायकहरूले भक्तराजलाई रुचाइरहँदा नेपाल सरकारले भक्तराज र उनका परिवारलाई भने सम्झिएको छैन।

२०३२ सालमा रेडियो नेपालमा आफूले पहिलोपटक भेटेको सम्झिए संगीतकार शम्भुजीत बाँस्कोटाले। १५ वर्षको उमेरमा भक्तराजलाई पछ्याउन थालेको बताउँछन् उनी। रेडियो नेपालमा आउजाउ गर्ने क्रममा गीतसंगीतका थुप्रै कुरा गरे बाँस्कोटाले। ‘थुप्रै काम गर्ने अवसर थियो दाइसँग तर के के मिलेन मिलेन। धेरै काम किन गर्न पाइँनँ होला भन्ने लाग्छ,’ उनले भने, ‘दाइसँग जीवनमा एउटा गीतमा काम गरें। प्रदीप उपाध्यायको गीत— ‘हिँड्दा हिँड्दै’ मा मेरो संगीत दाइको स्वर थियो।’

संगीतकार बाँस्कोटाका अनुसार गायक आचार्य नेपाली संगीतमा मौलिक आवाजका धनी थिए। उनी भन्छन्, ‘संगीत साधकलाई साधना चाहिन्छ भन्ने योद्धा ठान्छु दाइलाई। उहाँ नेपाली गीत संगीतको अलग्गै स्थान बनाउने स्रष्टा हो। नेपाली गीत संगीतको इतिहासमा खम्बाको रूपमा चिन्छु म।’

युवा पुस्ताका लोकप्रिय संगीतकार दीपक शर्मा भक्तराजलाई सम्झिन्छन्। उनका अनुसार आचार्य संगीतका विश्वविद्यालय थिए। उनी भन्छन्, ‘नेपाली सुगम संगीतका लागि भक्तराज दाइ पाठशाला हुनुहुन्थ्यो। अथवा नयाँ पुस्ताका लागि उहाँ विश्वविद्यालय हुनुहुन्थ्यो।’

भक्तराजका ‘हजार सपनाको माया लाएर आउँछ,’ ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नशा पिएर’ लगायत थुप्रै कालजयी गीत छन्। नेपाली गीतसंगीत क्षेत्रमा अग्रणी व्यक्तित्व भक्तराजकाे जीवनमा आधारित चलचित्र ‘आचार्य’ पनि बनेको थियो, जसमा प्रमुख नायकमा भक्तराजका जेठा छोरा संगीतज्ञ सत्यराज रहेका छ।

चलचित्र आचार्यले गायक भक्तराजकाे संघर्षको धेरै पाटा देखाएको छ। जस्तै, उनले चिया बगानमा गीत गाए। कहिले नारायण गोपालको ‘गल्ती हजार हुन्छन् यहाँ होस गुमेको बेला’ सुनेर रोए। आफ्नो गायक बन्ने सपना बोकेर काठमाडौं आउँदा काँधमा हार्मोनियम र एउटा टिनको बाकस बोकेर काठमाडौं पसेका थिए भक्तराज। उनले एउटा सानो कोठाका, चिसो कोठाका भित्तालाई गीत सुनाए। घरबेटीलाई गीत सुनाए। घरबेटीको पसलमा आउनेलाई रक्सीसँग झुम्म हुने गरेर गीत सुनाए।

आज भक्तराजका दुई सुपुत्र सत्य स्वरूपलाई चिनाइरहनु पर्दैन। बुवाकै बाटो हिँडेर शिखर चुमिरहेका उम्दा गायक भएका छन्। सेलिब्रेटी गायक बनेका छन्। र त कवि विप्लप प्रतीक भक्तराजलाई सम्झिँदै लेख्छन्— ‘कैयनको दबिएको आवाजलाई स्पष्ट वाणी दिने एक विलक्षण सिताराले नेपाली संगीतलाई जे दिएर जानुभयो त्यो नेपाली सुगम-संगीतमा अनवरत चम्किरहनेछ।’

भक्तराजले गाएको गीत— हजार सपनाको माया लागेर आउँछ जस्तै भए उनी। सपना नदेखेको भए, सपनालाई पूरा गर्दैनथे भने डुबर्सको चिया बगानमा मात्रै सीमित हुन्थे होलान्। सायद भक्तराज आजका भक्तराज हुने थिएनन् कि? काठमाडौं आउँदै गर्दा उनले बाटोमा भन्छन्, ‘सबैलाई भनिदिनू भक्तराज आचार्य बस चढेर सपना पूरा गर्न हिँड्यो।’

गाउने सपना बोकेर काठमाडौं खाल्डोमा नझरेका भए आज उनलाई संसारले चिन्दैनथ्यो। उनी आए र त सुगम—संगीत धनी भयो। बाँस्कोटाका अनुसार आचार्य ‘संगीतका ज्ञानी सुरका धनी’ थिए।

 

यो पनि पढ्नुहोस्

भजन शिरोमणि भक्तराज आचार्यको निधन

भजन शिरोमणि भक्तराज आचार्यको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?