
काठमाडौँ – सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन्।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन्।
राष्ट्रिय सभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ। तर, माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
त्यसैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजनालगायतका विषयमा पनि छलफल गरिएको छ। प्रवक्ता सापकोटाकाअनुसार बैठकमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिएका थिए ।
प्रवक्ता सापकोटाले भने, ‘हामीले प्रस्तुत सबै एजेण्डाहरुको बारेमा बृहत् छलफल गर्यौँ। तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन। निर्णय भइसकेको छैन। छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रस्तुत गरिसकेको छु। सबभन्दा मुख्य चाहिँ कार्यविभाजनको विषय थियो। पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलि बढी छलफल भयो। यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो। र त्यस सम्बन्धमा अन्तिम निर्णय भोलि हुन्छ। अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छोड्नुहुन्न भन्ने मत राख्नुभएको छ। हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरुको बारेमा पनि छलफल भयो।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बोलाइएको छ।