
सिमकोट – जिल्ला छात्रवृत्ति वितरण समितिको बैठकले लक्षित वर्गका विद्यार्थीका लागि छात्रवृत्ति वितरणका लागि आवेदन माग गर्ने निर्णय गरेको छ। सामाजिक बिकास कार्यालयको आयोजनामा सञ्चालन भएको बैठकले तीन किसिमका छात्रवृत्तिका लागि आवेदन माग गर्ने निर्णय भएको हो।
समितिका संयोजक एवं सो कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले बर्सेनि वितरण हुँदै आएको छोरी बुहारी, अपांगता र दलित महिलाले उच्च शिक्षा अध्ययन गरिरहेका महिलाले पाउने गरी सो छात्रवृत्तिका लागि आवेदन माग गर्ने निर्णय भएको जानकारी दिएका छन्।
जसमा छोरी–बुहारीमा बीस जना उच्च शिक्षा अध्ययन गर्ने महिलाले आवेदन दिन पाउनेछन् भने दलित महिलामा १० जना र अपांगता महिलामा दश जना पाउनेछन्।
यसका लागि कार्यालयले २१ दिने सूचना सार्वजनिक गर्ने भएको छ। आवेदन दिएर छात्रवृत्ति पाउने महिलाले छोरी बुहारीतर्फ वार्षिक ५० हजार, अपांगता तथा दलित महिलाले वार्षिक २४ हजार छात्रवृत्ति पाउनेछन्।
यसरी पाउने छात्रवृत्ति सबै प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्ने एउटा तहको एक पटकका लागि पाउनेछन्। तर, कर्णाली प्रदेशभित्रका प्राविधिक धारमा अध्ययन गरेका लक्षित वर्गका महिलाबाहेक अन्यले भने सो छात्रवृत्ति पाउने छैनन्। कार्यालयले एक दुई दिनमा आवेदन माग्ने भएको छ।