
काठमाडौँ- महानगरपालिकाका नगर प्रहरीले बुधबार सुन्धारामा फुटपाथ व्यापारीहरुलाई कुटपिट गरी घाइते बनाएको विरोधमा बिहीबार राजधानीमा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा बुधबार नगर प्रहरीको आक्रमणमा परी घाइते भएका दुई जना पनि सहभागी थिए।
प्रदर्शनमा सहभागी व्यापारीहरुले ‘महानगरको ज्यादति कहिलेसम्म’, ‘सांघातिक आक्रमण बन्द गर’, ‘नगरप्रहरीको गुण्डागर्दी बन्द गर’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए।
काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप हुँदा पाँच नगरप्रहरी र ६ व्यवसायी घाइते भएका थिए। घाइतेमध्ये दुई गम्भीरको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको थियो।
फुटपाथ व्यवसायीहरुले आफूहरुमाथि नगरप्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गरी काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको उल्लेख गरेको छ।
स्वरोजगार मजदुरहरुलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर मजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरुलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
संघले विज्ञप्ति मार्फत मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने, सन्ध्याकालीन बजारको व्यवस्था गर्नुपर्ने, घाइते मजदुरहरुको तत्काल उपचार गर्नुपर्ने लगायतका माग पनि राखेका छन्।
यी छन् फुटपाथ व्यवसायीका माग:
१. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरी माफी मागियोस् ।
स्वरोजगार मजदुरहरुलाई आक्रमण गरी गम्भीर घाइते बनाउने महानगर प्रहरीहरुलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरुको सामान लुट्ने जस्ता आपराधिक कार्यप्रति काठमाण्डौं महानगरपालिकाले मजदुरहरुसँग माफि माग्नु पर्दछ ।
२. घाइते मजदुरहरुको तत्काल उपचार गरियोस् ।
आक्रमणमा परि घाइते हुनु भएका सम्पूर्ण श्रमिकहरुको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रवन्ध गरियोस् ।
३. जफत् गरिएका सामानहरु फिर्ता
महानगर प्रहरीहरुद्धारा आज तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरुको सामानहरु सम्बन्धीत श्रमिकहरुलाई स–सम्मान र तत्काल फिर्ता गरियोस् ।
४. सन्ध्याकालिन बजारको व्यवस्था
महानगरभीत्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरि व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् ।
५. कार्यदल गठन
महानगरभित्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभित्र “श्रम डेस्क‶को व्यवस्था गरि श्रमिकहरुको सूचिकरण र व्यवस्थापन लगायत तात्कालिन र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघ सहित सरोकारवालाहरु सम्मिलित कार्यदल गठन गरियोस् ।
माथि उल्लेखित विषयहरु तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरु सडक आन्दोलनमा जान बाध्यहुने व्यहोरा अवगत गराउँदछौं ।
हार्दिक अभिवादन सहित ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौं