
काठमाडौं- वाफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र जोर्डन प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो हाफको समाप्तीमा नेपालले जोर्डन विरुद्ध १-० को अग्रता बनाएको छ।
नेपालका लागि सविता राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन। पहिलो हाफमा नेपालले दबाब बनाएको खेलमा जोर्डनले सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन। पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा राम्रो मौका चुकाउँदा जोर्डनले बराबरीको अवसर गुमायो।
खेलको २९औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। पहिलो पटक प्लेइङ ११ मा रहेकी सविताले रेखा पौडेलको पासमा जोर्डनका डिफेन्डरले सहज क्लियर गर्न सक्ने बललाई चुकाउँदा पाएको बललाई सविताले बक्सको छेउबाट गरेको प्रहार गोलरक्षकले क्लियर गर्ने कुनै अवसर पाएकी थिइनन्।
नेपाल आफ्नो ११ औं पटक फाइनलमा उपाधि खडेरी टार्ने प्रयासमा छ। यद्यपि आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारी गुमाएको नेपाल दोस्रो हाफमा समालिएर अग्रता जोगाए च्याम्पियन बन्ने छ।