
काठमाडौं- शुक्रबारबाट सुरु भएको यु-१६ साफ च्याम्पियनसिपमा नेपालले शनिबार (आज) आफ्नो पहिलो खेल खेल्दै छ। एन्फा कम्पलेक्स सातदोबाटोमा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ।
गत वर्ष यु-१५ महिला साफ जितेको नेपाललाई यसपटक पनि उपाधि दाबेदार हो। सोही प्रतियोगितालाई यो पटक बाट यू-१६ साफ च्याम्पियनसिपका रुपमा सुरु गरिएको हो। शुक्रबार भएको द्घाटन खेलमा भारतले भुटानलाई ७-० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ।
नेपालका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताएका छन्। उनले करिब एक महिना देखि एन्फा कम्प्लेक्समानै अभ्यास गरीरहेको भन्दै सोहि मैदानमा हुने खेल भएकाले नेपाल आत्माविश्वासका साथ मैदानमा उत्रिने बताए।
त्यस्तै बंगलादेशका प्रशिक्षक शरिफुल टिटुले पनि उपाधि लक्ष्य सहित नेपाल आएको र कृतिम मैदानमा आफ्ना खेलाडी अभ्यस्त रहेकाले विजयी सुरुवातको अपेक्षामा रहेको बताए। उनले धेरैजसो समय कृत्रिम मैदानमा प्रशिक्षण गरेको तर केही समय घाँसे मैदानमा पनि खेलेको भएपनि यसले समस्या नल्याउने विश्वास ब्यक्त गरे।
राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल २७ फागुनमा हुने छ।