
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रेन्च शीर्ष डिभिजनमा गोलको ‘डेब्यू’ गरेकी छिन्। शनिबार भएको खेलमा एन अभान्ट ग्वेंगाम्पका लागि उनले महत्वपूर्ण गोल गरिन। साम्बाको गोलमा क्लबले २-० को जित निकाल्यो।
लिलविरुद्धको खेलका लागि क्लबले साम्बालाई वाफ च्याम्पियनसिपको फाइनल नखेल्दै क्लबमा फिर्ता बोलाएको थियो। तर अधिकासं समय बेन्चमा रहेकी साम्बाले अन्तिम समयमा मैदान प्रवेश गर्दै टोलीका लागि गोल गरिन।
साम्बा खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन। उनले इन्जुरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै वान भर्सेस वानमा आकर्षक फिनिसिङ गर्दै टिमको अग्रता दोब्बर बनाइन।
त्यसअघि दोस्रो हाफको सुरुवातमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन्। यो जितले ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। १६ खेलमा टोलीको १५ अंक पुगेको छ। रेलिगेसन क्षेत्रबाट क्लब ७ अंकको अग्रता बनाउन सफल भएको छ।