काठमाडौँ- सञ्चारकर्म र लैँगिक समानताका क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव बटुलेकी वन्दना राणाले देशसञ्चार चौतारीमा सहभागी भएर देशसञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरेकी छन्।
अन्तर्क्रियाका क्रममा राणाले आफ्नो साढे तीन दशकभन्दा लामो अनुभव र यसका रोचक प्रसंगहरु बाँडेकी थिइन्।
नेपाल टेलिभिजनको न्यूजरिडरबाट करियर सुरु गरेकी वन्दना राणा अहिले महिला हिंसाबिरुद्धको राष्ट्रसंघीय कमिटी (सिड) को कार्यकारी भूमिकामा छिन् र संसारका विभिन्न ठाउँमा महिला हिंसाको दयनीय अवस्थामा सुधार ल्याउन काम गरिरहेकी छन्।
न्यूजिल्यान्डमा ब्रोडकास्टिङसम्बन्धी तालिम लिएर आएपछि उनको हेर्ने र बुझ्ने शैलीमा धेरै परिवर्तन आएको थियो। ‘म हस् भन्ने अवस्थाबाट प्रश्न सोध्ने अवस्थामा पुगेकी थिएँ,’ उनले भनिन्।
सन् १९८६ अर्थात आजभन्दा ३८ वर्षअघि नेपाल टेलिभिजन ज्वइन गर्दा उनी भर्खरै यौवनावस्थामा प्रवेश गरेकी थिइन्। तर, अहिले उनी विश्वव्यापी रुपमा काम गरिरहेकी महिला अभियन्ताका रुपमा जे छिन्, त्यसको जरा नेपाल टेलिभिजनबाटै झ्याँकिएको भन्न उनी हिच्किचाउँदिनन्।
आफ्नो सिडसम्म्मको यात्राको जग सञ्चारकर्मदेखि नै खनिए पनि आफूले कहिले पनि सिडको कार्यकारी भूमिकासम्म पुग्छु भनेर कहिल्यै नसोचेको वन्दनाले बताइन्।
आफूले अन्तर्राष्ट्रिय मञ्चहरुमा साडी लगाएरै नेपालको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले हिउँ, हावाहुरी, पानी जुनसुकै अवस्थामा पनि आफूले मौलिक पहिरनलाई नत्यागेको पनि उनले बताइन्।
अभियन्ता राणा सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र उनी ‘खुसी मन’ ह्यासट्याग राखेर आफ्ना अनुभूतिहरु बाँडिरहेकी हुन्छिन्। ‘मेरा अनुभवहरुलाई अरुले सराहना गरेको पाएपछि मैले यसलाई निरन्तरता दिएकी हुँ,’ उनले भनिन्।
विभिन्न मञ्चहरुमा सिडको प्रतिनिधिका रुपमा नेपालको प्रतिनिधित्व गर्ने क्रममा आफूले भोगेका रमाइला अनुभव पनि वन्दनाले देशसञ्चार चौतारीका क्रममा बाँडेकी छन्। ‘एकपटक मैले कार्ड मागेको व्यक्ति त माल्टाको प्रधानमन्त्री पो रहेछन्,’ उनी रमाइला प्रसंग पनि सम्झिन्छिन्।
सिडको दोस्रो कार्यकालमा भूमिका निर्वाह गरिरहेकी वन्दनाले सिडको तेस्रो कार्यकालका लागि पनि मनस्थिति बनाएकी छन्।
उनी नेपालको संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन विभिन्न फोरमहरुमा पनि संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन्। ‘संसारका महत्त्वपूर्ण फोरमहरुमा सबैले नेपालको संक्रमणकालीन न्यायको बारेमा चासो राख्छन्,’ उनी भन्छिन्।
लामो समय टेलिभिजनमा काम गरेर त्यहाँबाट राजीनामा दिएकी वन्दनाले राष्ट्र संघको कर्मचारी बन्दै आफ्नै संस्थासम्मको यात्रा र त्यहाँबाट सिडको कार्यकारी सदस्यका रुपमा निरन्तर रुपमा पुर्याएको योगदानबारे देशसञ्चार चौतारीका क्रममा जानकारी दिएकी छन्।
पूरा भिडियो:

भर्खरै
लोकप्रिय






































































































































































































