
काठमाडौं- आगामि जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने तय भएको टी-२० विश्वकपको तयारीका लागि नेपाल सरकारले ५ करोड निकासा गरेको छ। राष्ट्रिय खेलकुद परिषदले सरकारले क्रिकेट विश्वकपको तयारीका लागि रकम दिएको जनाएको छ।
नेपाल क्रिकेट संघ क्यानले तयारीका लागि सरकारले गरेको सहयोगको प्रसंसा गरेको छ। नेपाल क्रीकेट संघ (क्यान) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एतिहासिक कदम चालेको भन्दै प्रचण्ड र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङलाई धन्यवाद दिएको छ। क्यानले भन्यो ‘नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछौं।’
नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्दै छ। यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो। टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ छ। नेपाल रहेको समूहमा बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन्।