
नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ।
नेपाली सेनाले आज मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो। सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो।
राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्तिस्थत सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए।
हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।
नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ।
थप तस्बिरहरू: