
अस्ट्रेलिया र न्युजिल्यान्डबिच क्राइस्टचर्चमा जारी दोस्रो तथा अन्तिम टेस्टमा न्युजिल्यान्ड पहिलो इनिङमा १ सय ६२ रनमै समेटिएको छ। शुक्रबारबाट सुरु भएको टेस्टमा पहिलो दिननै ब्याटिङ सुरु गरेको अस्ट्रेलियाले दिनको खेल सकिंदा सम्म ४ विकेट गुमाएर १ सय २४ रन बनाएको छ। अस्ट्रेलिया पहिलो इनिङमा ३८ रनले पछि छ।
अस्ट्रेलियाका मार्नुस लबुसेन ४५ रनमा अविजित रहँदा उनलाई नाथन लियोनले १ रनमा साथ दिइरहेका छन्। त्यसअघि स्टिभ स्मिथ ११ रन बनाएर आउट भएका थिए भने उस्मान ख्वाजा १६ रनमा पेभिलियन फर्किए। त्यस्तै क्यामरन ग्रिन २५ रन बनाएर आउट हुँदा ट्रेभिस हेडपनि २१ रनमा आउट भए। न्युजिल्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिंदा बेन सियर्सका नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्डका कुनैपनि ब्याटरले गतिलो इनिङ खेल्न सकेनन्। टोम लाथमको ३८ रन सर्वाधिक रनका रुपमा रह्यो। त्यस्तै म्याट हेनरीले २९ रन बनाउँदा कप्तान टिम साउदीले २६ रन बनाए। त्यस्ते केन विलियमसन १७ रनमा आउट हुँदा विल योङले १४ तथा टोम ब्लन्डेलले २२ रन बनाएका थिए।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा जोस ह्याजलवुडले ३१ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै मिचेल स्टार्कले ३ विकेट लिंदा प्याट कमिन्स र क्यामरन ग्रिनले समान १-१ विकेट लिए। यसअघि पहिलो टेस्टमा अस्ट्रेलिया १ सय ७२ रनले विजयी भएको थियो।