
काठमाडौं- खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको छ।
बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले एन्फाले बहराइनमा आयोजना हुने फिफा विश्वकप २०२६ छनोट फुटबल प्रतियोगितामा एन्फाबाट सहभागी हुनको लागि खेलमा संलग्न समूह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको विषयमा कारवाही गर्न राखेपलाई निर्देशन दिएको हो।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको भन्दै मन्त्रालयले खेलकुद विकास ऐन, २०७७ बमोजिम कारवाही गर्न निर्देशन दिएको हो।
मन्त्रालयले विज्ञप्तीमा भनेको छ ‘खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनु पर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानून बमोजिम कारवाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको साथै कानून बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ।’
मन्त्रालयले खेलाडीहरुको मनोबल उच्च राख्न, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अधिकतम अवसर प्रदान गर्न, खेल संघको क्षमता विकासको साथै आधुनिक सुविधा सम्पन्न खेलकुद पूर्वाधार निर्माणलाई गति प्रदान गरी स्वदेशमै अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने मन्त्रालय क्रियाशील रहेकोको समेत जानकारी दिएको छ।