
सिमकोट– नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्योलताले हालसम्म विद्यार्थीको हातमा कतै गत वर्षको पुस्तक पुगेको छ त कतै पुस्तक नपुगेको पाइएको छ।
ग्त वर्षबाटै शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहले आफ्नो निर्णयअनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीको हातमा पुस्तक नपुगेको हो।
ताँजाकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले हालसम्म कक्षा पाँचदेखि दशसम्मका पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेको बताए। ताँजाकोट गाउँपालिकाका विद्यालयमा फागुन ९ गतेबाट पढाइ सुरु भएको थियो। पुस्तक ढुवानीको जिम्मा पाएको सप्लायर्सले जनक शिक्षा सामग्री केन्द्रले औपचारिक रुपमा कक्षा पाँचदेखि दशसम्मका पुस्तक बिक्री सुरु नगरेका कारण पुस्तक आइनपुगेको जानकारी आफूलाई ढुवानीको जिल्लामा लिएको सप्लायर्सले बताउने गरेका छन्।
ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकामा पाठ्यपुस्तकको ढुवानीको जिम्मा लिएको एलबी सप्लायर्सका प्रतिनिधि लोकेन्द्र भण्डारीले जनक शिक्षाले पाठ्यपुस्तक बिक्री नै सुरु नगरेको कारण जिल्लामा ढुवानी नगरिएको बताए। उनले नीति क्षेत्रले कक्षा एकदेखि चारसम्मका पाठ्यपुस्तक बिक्री सुरु गरेको कारण विद्यालयमा पुर्याएर विद्यार्थीलाई बितरण गरि सकिएको भएपनि माथिल्लो कक्षाका पुस्तक नै आफूले नबुझेको बताए।
उनले आफू जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जको सम्पर्क गएको तर पुस्तक बिक्री सुरु नभएको जानकारी पाएपछि फिर्ता भएको बताए। यता सिमकोट र नाम्खा गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक ढुवानीको जिल्ला लिएको रोकाया पुस्तक पसलले भने कक्षा एक दुई र पाँचको पुस्तक नछापिएको कारण ल्याउन नसकिएको भएपनि अन्य कक्षाको पुस्तक भने विद्यालयमा पठाई सकेको छ।
सिमकोट र नाम्खाका गाउँपालिकाका विद्यालयमा पुराना पुस्तक बितरण गरिएको हो।
यता खार्पुनाथ गाउँपालिकाले पनि कक्षा पाँचदेखि दशसम्मका पाठ्यपुस्तक विद्यालयमा आई नपुगेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ललितजंग बताए।
सो गाउँपालिकामा फागुन १६ गतेबाट पठनपाठन सुरु भएको भएपनि पुस्तक बिनै विद्यार्थीको कक्षामा उपस्थिति हुने गरेको छ। सर्केगार्ड गाउँपालिकाले भने गतवर्ष बचेको पुस्तक बिक्री गरेर विद्यार्थीको हातमा पुस्तक पुगेको जनाएको छ। सो गाउँपालिकामा पनि कक्षा, एक दुई र पाँचका पुस्तकहरू प्ुगेका छैनन्। शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख भीमराज कार्कीले स्थानीय तहकै कारण विद्यार्थीको हातमा पुस्तक नपुगेको बताए।
एकाईबाट केन्द्रका देशभर शैक्षिक सत्र एउटै समय बैशाख १ गतेबाट सुरु गर्नुपर्ने निर्देशन आफूले सात वटै गाउँपालिकामा पठाएको भए पनि त्यसलाई कुनै पनि गाउँपालिकाका कार्यान्वयन नगरेको कारण यो समस्या आएको हो। केन्द्रको शैक्षिक सत्र सुरु गर्ने सन्दर्भमा एउटा सर्कुलर तर गाउँपालिकाले आफ्नै खाने निर्णय गरेर पुस महिनामा वार्षिक परीक्षा र फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णयको कारण अहिले यो समस्या आएको हो।
जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख होमराज ढुंगेलले केन्द्रबाट औपचारिक पत्र नआएको कारण पाठ्यपुस्तक बिक्री सुरु नभएको बताए।
विद्यालयमा वार्षिक परीक्षा नै सुरु नभएको सन्दर्भमा पाठ्यपुस्तक बिक्री सुरु नगरिएको उनले बताए। उनले बल्ल पुस्तकहरू ढुवानी भएर आउने क्रम सुरु भएको र अझै कक्षा पाँचको पुस्तक आइपुग्न समय लाग्ने बताए। चैत पहिलो हप्तासम्म जिल्लामा पाठ्यपुस्तक पठाउन सुरु गरिने छ।
उनले आफूहरू पनि वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने र त्योभन्दा अगाडि नै जिल्लामा पाठ्यपुस्तक पठाउने तयारीमा रहेको तर फागुनबाट नयाँ शैक्षिक सत्र सुरु भएको जिल्लाको जानकारी नआएको बताए। शैक्षिक सत्रकै अन्योलले विद्यार्थीले पुस्तक नपाएका जिल्लाका विद्यालयको संख्या ५८ छ।