
पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न छिमेकी राष्ट्रसँग पहल गरेको दाबी गरे। नियमित उडान भर्न आफुले ध्यान दिइरहेको बताए।
आइतबार पोखरामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले चीन सरकारसँग विशेष पहल गरेको सुनाए।
‘अन्तर्राष्ट्रिय उडान नियमित रूपमा ल्याउने वातावरण बनाउन मैले छिमेकी राष्ट्रहरूको भ्रमणको सन्दर्भमा मुख्यत चिन भ्रमणको सन्दर्भमा एउटा समझदारी बनेको छ,’ उनले भने, ‘छिट्टै नियमित उडानको व्यवस्था हुने विश्वास मलाई छ।’
प्रधानमन्त्री दाहालले विमानस्थल निर्माणमा लिएको ऋणलाई अनुदानमा बदल्ने प्रयासमा रहेको बताए। ‘जहाँसम्म ऋणको कुरा छ त्यो २५ प्रतिशतको एउटा सम्भावना यसलाई अनुदानमा बदल्न सकिने मात्रै होइन, सम्पूर्णकै बारेमा पनि मेरो ध्यान छ,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।
पोखरा विमानस्थल ऋणमा डुबाएको रूपमा व्याख्या नगरी ऐतिहासिक कामको रूपमा लिन उनको आग्रह छ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि स्थापित गर्न अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका रहने बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाबारेसमेत चर्चा गरे।
गत वर्ष पुस १७ गते प्रधानमन्त्री दाहालले तामझामकाबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलायन्सको जहाज परिक्षण उडान भरेकाे थियाे। यसैलाई पहिलो अन्तर्राष्ट्रिय उडानको रूपमा लिने गरिन्छ।
२०८० असार ६ गते चीनको छेन्दुबाट सिचुवान एयरलायन्सको चार्टर्ड विमानले पोखरा विमानस्थलमा अवतरण गर्याे। भदौ २३ मा भुटानको ड्रुक एयरले पर्यटक लिन पोखरा ओर्लियो ।
कात्तिक २२ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई राहत लिएर चिनियाँ २ जहाज पोखरा आएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्त्र्राष्ट्रिय उडानबाट प्रत्येक यात्रु ग्राउण्ड ह्याण्डलिङबाट करिब ५ लाख रुपैयाँ आम्दानी गरेको छ।
याे पनि पढ्नूहाेस्: प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौं: प्रधानमन्त्री प्रचण्ड