पोखराका मुख्य पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुला रहने

पोखरा पर्यटनको राजधानी घोषणा (फोटो/भिडियोसहित)

+
-

पोखरा – पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन्।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएसँगै अब चौबिसै घण्टा पोखरा जागा रहनेछ।

पोखरालाई पर्यटनको राजधानी घोषणपूर्व लेकसाइडस्थित फेवातालको किनार कोमागाने पार्कदेखि बाराहीघाटसम्म विशाल र्‍याली निकालिएको थियो। पोखरेली पर्यटन व्यवसायीदेखि जनप्रतिनिधि, कर्मचारी र सर्वसाधरण उत्साहपूर्वक र्‍यालीमा सहभागी बने। पोखराको कला संस्कृतिले झल्कने र्‍यालीले लेकसाइडको सडकमा रौनक थप्यो।

बाराहीघाटमा भएको औपचारिक कार्यक्रममा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी अंकित लोगो सार्वजनिक गरे। स्मृति स्तम्भको अनावरण गरे। त्यसपछि पोखरालाई पर्यटकको राजधानी घोषणा गरे,‘प्राकृतिक, साँस्कृतिक तथा साहसिक क्षेत्रको अद्वित्तीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु।’

प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै गण्डकी प्रदेश र सिंगो देशको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताए। विश्व पर्यटन बजारमा पोखराको ब्रान्डिङ हुने उनको तर्क छ।

‘विश्वकै पर्यटन बजारमा पोखराको ब्रान्डिङ गर्ने, पर्यटन बजारको पहुँच विस्तार गर्ने, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र यस क्षेत्रको जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्वपूर्ण योगदान पुग्नेछ’, उनले भने। पर्यटकीय राजधानी घोषणाले मात्रै नहुने भएकाले नीतिगत सुधारमा सबैको भूमिका रहने प्रधानमन्त्री दाहालको भनाइ थियो।

पोखरा विशेष सम्भावनाले भरिएको सहरको रुपमा उनले चित्रित गरे। नदी, हिमश्रृंखलाहरु, तालतलैया, मठमन्दिर गुम्बा, मस्जिद, छाँगाछहरा, गल्छीले पोखराको सुन्दरतालाई अनुपम तवरले सिंगारेको प्रचण्डले बताए। ‘यहाँको आर्थिक विकास, आत्मनिर्भरता, साँस्कृतिक वैभव, राष्ट्रिय संस्कृति एवं ऐतिहासिक पहिचान र जनसम्बन्धमा गुरुत्वपूर्ण योगदान पुर्‍याएको छ’, उनले भने।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न समिति गठन भएको थियो। मंसिर दोस्रो साता गठन भएको समितिमा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, विज्ञसहित ११ सदस्य थिए।

समितिले बुझाएको प्रतिवेदनको आधारमा पर्यटन राजधानी घोषणा गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए। फागुन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय लिएको उनले जानकारी दिए।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटमा पर्यटन क्षेत्रलाई समुन्नतीको मुख्य आधार मानेको मुख्यमन्त्री पाण्डे बताउँछन्। उनी भन्छन्, ‘पर्यटन क्षेत्रको दिगो विकास र व्यवस्थापनमार्फत प्रादेशिक अर्थतन्त्रको दिगो आधारशिला तयार पार्न प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।’ पोखरा पर्यटकीय गतिविधीको आधारमा पनि अग्रस्थानमा रहेको उनको दाबी थियो।

 

पर्यटकीय राजधानी घोषणाको माग गर्दै पाँच वर्षअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले पहिलोपटक संघीय सरकारको मन्त्रिपरिषद्लाई पत्राचार गरेको थियो। गुरुङ नेतृत्वको सरकारले पोखराको लेकसाइड क्षेत्रलाई ‘इञ्जोय जोन’ को प्रस्ताव गरेपछि बहस चर्किएको थियो।

त्यसपछिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको २०७८ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटन राजधानी घोषणाका गर्न संघ सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो। अध्ययन र पूर्वाधारबिना नै पर्यटन राजधानी घोषणा गर्न संघ सरकारले चासो देखाएन।

अहिले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने अनुरोध प्रधानमन्त्री स्वयं उपस्थित भएर अनुमोदन गरिदिएका छन्।

योसँगै अब पोखरा चौबिसै घण्टा खुला रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। ‘आजैदेखि निश्चित मापदण्ड र कार्यविधिको आधारमा पोखरा चौबिसै घण्टा खुला गरिएको छ’, उनले भने।

शनिबार कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ४३ वटा मापदण्ड तय गरेर पोखराका मुख्य पर्यटकीय क्षेत्र २४ घण्टा खुला रहने व्यवस्था मिलाइएको हो। अबको हप्तादिनमा यातायात तथा ट्राफिक सुधार योजना कार्यन्वयनमा आउने मेयर आचार्यले बताए।

संघ, प्रदेश र स्थानीय तहले आगमी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने उनको भनाइ थियो। पोखरामा आन्तरकि र बाह्य लगानीको वातावरण बन्नेमा मेयर आचार्य विश्वस्त सुनिए।

पोखरालाई पर्यटन राजधानी घोषणाको अवसरमा ब्रान्डिङमा सघाएका ३ जनालाई सम्मान गरिएको छ। २०३९ सालमा प्रकाशित मदन पुरस्कार विजेता कृति ‘प्राकृत पोखरा’ का लेखक, भाषाविद् प्राध्यापक डा. मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङ र सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार स्वर्गीय प्रेमप्रकाश मल्ल ‘मधुकर’ लाई मरणोपरान्त सम्मान गरिएको छ। तीनै जनाले स्वर्गसरी पोखरालाई शब्दमा उतारेर पर्यटन प्रवर्द्धनमा सघाएको भन्दै सम्मान गरिएको हो।

पर्यटन राजधानी घोषणा कार्यक्रम पोखरेली गीतसंगीतमा पनि झुमे। गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा’, धर्मेन्द्र सेवनले ‘रेशम फिरिरी’, प्रकाश सपुतले ‘माकुर माकुर घुर’, ‘गलबन्दी च्यातियो’ गीत गुञ्जाए। ‘गलबन्दी च्यातियो’ गुञ्जिँदा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कम्मर मर्काउँदै नाचे।

जीवन दाहालले रचना गरेको गीत ‘जाउँ है पोखरा, आउँ है पोखरा’ गुञ्जाउँदै गीतमार्फत पोखरा घुम्न आउन पर्यटक डाकियो।

‘माछापुच्छ्रे हिमालको फेवातालमा छाया
सागरभन्दा गहिरो छ पोखरेलीको माया…’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?