
चेल्सी एफएकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। रोमाञ्चक खेलमा इन्जुरी समयको दुई गोल चेल्सीलाई अन्तिम चारमा पुग्न महत्वपूर्ण बन्यो।
चेल्सीले लेस्टर विरुद्ध सुरुवातमै दुई गोल गरेपनि पुनरागमन गर्दै लेस्टरले खेल बराबरीमा ल्याएको थियो। तर त्यसपछि १० खेलाडीमा समेटिएको लेस्टर विरुद्ध चेल्सीले अन्तिम समयमा लगातार दुई गोल गर्दा अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो।
खेलमा चेल्सीले मार्क कुकुरेलाको गोलमार्फत १३ औं मिनेटमा अग्रता बनाएको थियो। चेल्सीले २६ औं मिनेटमा अग्रता दोब्बर बनाउने अवसर चुकायो। पेनाल्टीको अवसरमा रहिम स्ट्रलिङ चुकेका थिए। तर चेल्सीले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनायो। उसका लागि कोले पाल्मरले अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २ गोलको अग्रता बनाएको चेल्सी विरुद्ध एक्सेल डायसीले आत्माघाती गोल गर्दै लेस्टरलाई ५१ औं मिनेटमा खेलमा फर्कने उपहार दिएका थिए। ६२ औं मिनेटमा लेस्टरले बराबरी गोल फर्कायो। उसका लागि स्टेफि माभिडीडीले बराबरी गोल गरे।
तर ७३ औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिए। उसका कलुम डोएली सिंधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर पूर्ण रुपमा दबाबमा रह्यो। यद्पि चेल्सीले गोलका लागि भने इन्जुरी समय सम्म कुर्नु पर्यो। उसले इन्जुरी समयको दोस्रो मिनेटमा सब्सटिच्युट कर्नी चुकवुमेकाले अग्रता दिलाए। इन्जुरी समयको आठौं मिनेटमा अर्का सब्सटिच्यट खेलाडी नोनी मडुएकाले टिमका लागि चौंथो गोल गर्दा चेल्सीले सहज रुपमा ४-२ ले खेल जित्न सफल भयो।