
झरी, बादल
खोंच, हिमाल
पहाड, तराई
नदी, समुन्द्र
सब्बै सब्बै लेखिसकेपछि
एउटा लेखकलाई पनि लाग्दो हो,
अब त केही पृथक लेखूँ!
लाग्दो हो-
– विकासका कविता लेखूँ
– समृध्दिका कथा लेखूँ
– जनताको खुसीका लामा उपन्यास लेखूँ
अनि लेखूँ,
– लेखकले लेखेरै पेट पालेका नियात्राहरू पनि..!
हत्या,
हिंसा,
बलात्कार
लाजनीति
र परनिर्भरताका
स्तम्भ लेख्दा लेख्दा
– घरिघरि घोत्लिँदो पनि होला
– भयका काला बादल मडारिँदा हुन् मन र मस्तिष्कमा
अनि सुस्केरा हाल्दै भन्दो हो-
धत् अब त अत्ति भो ! केही रोचक लेख्नुपर्छ
– जनताका हक लेख्नुपर्छ
– लेख्नुपर्छ भ्रष्टहरूको अवसानका सत्यकथा
– लेख्नुपर्छ लाजनीति साँच्चिकै राजनीतिको गन्तव्यमा
पुगेको नियात्रा
– लेख्नुपर्छ देशको आत्मनिर्भरताका ठूला उपन्यासका ठेली
– लेख्नुपर्छ कथा-कविता सुरक्षित भएका चेली ।
र अन्तमा लाग्दो हो,
‘के गर्छौ?’ भनी कसैले सोध्दा
‘लेख्छु’ भन्ने जवाफमा
दोहोर्याएरु प्रश्न नगरियोस्-
अनि काम चैं के गर्छौ ?