
काठमाडौँ- फिफा विश्वकप र एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग नेपाल ५-० ले पराजित भएको छ। नेपालको मैदानमा हुनुपर्ने ‘होम’ खेल दशरथ रङ्गशालाको खराब अवस्थाका कारण बहराइनकै मैदानमा खेलेको नेपाल घरेलु टोलीसँग पूर्ण रुपमा निरीह बनेको थियो।
बहराइनविरुद्धको पहिलो खेलमा नेपालका चार युवा खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेपनि उनीहरूको डेब्यू भने सम्झनलायक रहेन। राष्ट्रिय टिममा अभिषेक लिम्बू, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय: समिर तामाङ र सन्जिव विष्टले डेब्यू गरेका हुन्। सन्जिवबाहेक बाँकी तीनै खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए र पहिलो सहभागितामै डेब्यु गर्ने अवसर पाए।
रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले पहिलो हाफमा तीन गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो। नेपालले छनोटअन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार बहराइनको यही मैदानमा खेल्ने छ। खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले मोहमद मारहुनको पास सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। नवौँ मिनेटमा सायद बकेरले वालियद अलहायमको कर्नरमा प्राप्त बललाई सहज रुपमा जाली चुमाउँदा नेपाल सुरुवतमै २-० ले पछि रह्यो।
त्यसपछि केही समालिएको नेपालविरुद्ध लगातार गोलको प्रयास गरेको बहराइनले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल सम्भव बनायो। मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको शक्तिशाली फ्रिकिक पोलमा लागेर फर्किएको बललाई अली मादनले सदुपयोग गरे।गोलरक्षक किरण लिम्बूले रोक्ने प्रयास गरेपनि उनको प्रयास सफल भएन।
पहिलो हाफमा लगातार प्रहार गरेको बहराइनका केही उत्कृष्ट प्रहार किरणले बचाउ गरेका थिए। नेपाल युवा खेलाडीहरूको भरमा मैदान प्रवेश गरेको थियो। नेपालका सर्वाधिक गोलकर्ताको संयुक्त सूचीमा रहेका अन्जन विष्ट घाइते हुँदै १६ औं मिनेटमानै मैदानबाट बाहिरिँदा नेपाल थप संकटमा परेको थियो।
दोस्रो हाफमा पनि बहराइनले नेपालमाथि एकपछिय दबाब कायम राख्यो। यद्यपि गोल भने खेलको अन्तिम समयमा निकालेको थियो। ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए। पाँचौं गोल पेनाल्टीमार्फत् गरेको थियो। इन्जुरी समयमा इस्माइल अब्दुल लतिफले पेनाल्टी मार्फत पाँचौं गोल गरेका थिए।
समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ। नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पुछारमा छ।