
अ
+
अ
अ
-
गलकोट (बागलुङ) – शारीरिक अपाङ्गता भएका पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत छिन्।
परिवारको हेरचाह नपाउँदा पढ्न नपाएका रुचाल आवासीय सुविधासहित अध्ययन गरिरहेकी छिन्। यस विद्यालयमा रुचालजस्ता १४ जना अपाङ्गता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्।
शारीरिक रुपमा अपाङ्गता भएका, अभिभावकविहीन, हेला होचामा परेकाजस्ता विद्यार्थीलाई यस विद्यालयले अध्ययनको व्यवस्था मिलाएको छ तर तिनै अपाङ्गता भएका विद्यार्थीलाई पढाउने विद्यालय सरोकारवालाको नजरमा पर्न सकेको छैन।
सो विद्यालयमा बागलुङ बजारका श्रमिक तथा माझी समुदायका एक सय १७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। ग्रामीण भेगका विद्यालयहरु सुविधा सम्पन्न भइसक्दा सदरमुकामसँगै रहेको रामरेखा आधारभूत विद्यालयमा भौतिक पूर्वाधारलगायत संरचनामा निकै कमजोर छ।
अपाङ्गता भएका विद्यार्थी पढाए पनि अपाङ्गमैत्री पूर्वाधार बन्न सकेको छैन। सीमित स्रोत र साधनले विद्यालय चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले बताए।
“विभिन्न जिल्ला र बागलुङका दूरदराजमा रहेका अपाङ्ग बालबालिकालाई शिक्षा दिनु हाम्रो कर्तव्य हो तर विद्यालयको आन्तरिक आय छैन। सरकारले आवासीय सुविधाका लागि दिएको मासिक चार हजारले पुग्दैन”, अध्यक्ष केसीले भने, “अपाङ्गमैत्री केही भौतिक संरचना भए पनि पूर्ण छैन। अपाङ्गमैत्री शौचालय, लत्ताकपडा, स्याहारसुसारको अभाव छ। अतिरिक्त सहयोग कतैबाट पाइएन।”
विद्यालयमा लोपोन्मुख माझी समुदायका छोराछोरी समेत पढ्दै आएका छन्। विद्यालय सञ्चालनमा थुप्रै कठिनाइ रहेको विद्यालयका निमित्त प्रधानध्यापक सृजना पौडेलले बताए। एक जनाले मासिक रु १२ हजार तलबमा २४ घण्टा अपाङ्गता भएका बालबालिकाको स्याहार गर्ने कार्य कठिन भएको प्रअ पौडेलको भनाइ छ।
“शारीरिक रुपमा कमजोर बालबालिकाको नियमित औषधि तथा उपचारको खाँचो छ। औषधि उपचारको खर्च विद्यालयले थेग्न सकेको छैन”, प्रधानअध्यापक पौडेलले भने, “बागलुङ बजारमै भएर समेत हाम्रो विद्यालयमा कसैको नजर परेको छैन।”