
इन्डियन प्रिमियर लिग (आइपिएल) अनतर्गत आइतबार भएको दिनको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। राजस्थानको उच्च स्कोरमा कप्तान सन्जु स्यामसनले ८२ रनको अविजित इनिङ खेले। त्यस्तै रियान परागले ४३ रन बनाउँदा यस्सवी जैसवालले २४ तथा धुर्व जुरेलले २० रन बनाए। जोस बटलर ११ रनमा आउट भएका थिए। लखनउका लागि नभिन उल हकले २ विकेट लिंदा मोसिन खान र कुर्नाल पाण्डेले समान १-१ विकेट लिएका थिए।
१ सय ९४ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनमा समेटियो। लखनउले समालिएको प्रदर्शन गरेपनि डेथ ओभरमा कम रन जोड्दा पराजित हुन पुग्यो। उसका लागि कप्तान केएल राहुलले ५८ रन बनाउँदा निकोलस पुरन ६४ रनमा अविजित रहेपनि टिमको हार टार्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा दिपक हुडाको २६ रन रह्यो। लखनउ विरुद्ध कसिलो बलिङ गर्ने क्रममा राजस्थानका ट्रेन्ट बोल्टले २ विकेट लिए भने नन्द्रे बुर्गर, रभिचन्द्रन आश्विन, युजवेन्द्र चाहल र सन्दीप शर्माले समान १-१ विकेट लीएका थिए।
आइतबारकै दोस्रो खेलमा अहिले मुम्बई इन्डियन्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दै छन्। गुजरातको घरेलु मैदान अहमदाबादमा जारी खेलमा गुजरात टस हारेर पहिले ब्याटिङ गरीरहेको छ।