
सिमकोट – जिल्लाका सात वटा गाउँपालिकामा ४३ वटा वडामा गरी पाँच हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने कार्य भएको छ। फागुन २५ गतेबाट सुरु भएको सो खोप कार्यक्रममा नाम्खा गाउँपालिका–६ को लिमी बाहेक चैत ७ गते सम्पन्न भएको हो।
भौगालिक बिकटताको कारण ढिलो गरि बिबरण सङ्कलन भएको बताउदै स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्लाका १०७ मध्य १०६ वटा खोप केन्द्रमा दादुरा रुवेला बिरुद्धको खोप अभियान सञ्चालन भएकोमा त्यसमा ८२ प्रतिशत बालबालिकाहरुलाई खोप लगाउने कार्य पुरा भएको बताए।
जिल्लामा नौ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकाको संख्या छ हजार २१२ रहेकोमा त्यसमा पाँच हजार १०८ बालिबालिकाहरुले खोप लगाउने कार्य पुरा भएको छ। जसमा दुई हजार ५४७ बालिका रहेकी छन् भने दुई हजार ५६१ बालक रहनु भएको छ। गाउँपालिका अनुसार सिमकोटमा जम्मा खोप लगाउने बालबालिका एक हजार नब्बे जनामा ९७५ जना र खार्पुनाथमा ८१४ मा ७२९ जनाले खोप लगाउनु भएको छ। त्यसैगरि सर्केगार्ड गाउँपालिका एक हजार ३२९ जनामा एक हजार एक सय जना, चंखेलीमा ८३३ मा ६०१, अदानचुलीमा एक हजार ६२ मा ८३१ र ताँजाकोटमा ७८० मा ७०२ जनाले दादुरा रुवेला बिरुद्ध खोप लगाउनु भएको छ।
यो खोप कार्यक्रम जिल्लाका छ वटा गाउँपालिकामा पुरा भएको छ भने नाम्खा गाउँपालिकाकाका पाँच वटा वडा सम्पन्न भएको भएपनि वडा नम्बर ६ को लिमीमा भने खोप कार्यक्रम हुन सकेको छैन्। लिमी जाने दुबै नाका चार हजार छ सय मिटर अग्लो नाना र पाँच हजार मिटर अग्लो न्यालु नाका हिमपातले बन्द भएको कारण भ्याक्सिन ढुवानी गर्न नसकिएकाले खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको हो। यो खोप मात्र नभएर बालबालिकाले नियिमत रुपमा लगाउने अन्य खोप पनि लगाउन नसकिएको होे।
लिमीका तीन तील, हल्जी र जाङ गाउमा तेह्र जना यो खोप लगाउने बालबालिका रहेका छन्। अब बाटो खुले पछि मात्र लिमीका बालबालिकालाई खोप लगाउने कार्य हुनेछ।