देश सञ्चार चौतारी भाग- ३७

एक दिनमा १९ वटा दोहोरी गाउँथे

+
-

१५ हजार गीत गाइसकेका लोकदोहोरी गायक राजु परियारलाई नचिन्ने सायदै होलान्। ५० को दशकमा उनको आवाजमा गीत रेकर्ड गर्न हानथाप हुन्थ्यो। लोकदोहोरी गीतसंगीत राजुमय थियो। उनले स्वर नै नभरे पनि नाम मात्रैले पनि गीति एल्बम बिक्थ्यो। गीत रेकर्डिङ, मेला महोत्सव र काठमाडौंका रेष्टुरेन्टसम्म उनी एकछत्र छाएका थिए। एक हिसाबले त्यसबेला लोकगीतका एक्ला ‘बादशाह’ थिए उनी।

लमजुङ चिसापानी स्थायी घर भएका राजुले गण्डकी प्रदेशको सेरोफेरोका लोकभाका नै बढी गाए। ‘वनमा काँडा छ,’ ‘मिर्मिरेको घाम,’ ‘फूलमा भमरा,’ ‘मौरी फूलमाथि,’ ‘धोका दिनेलाई के भनौं र खोई,’ ‘लालुपाते नुग्यो भुइँतिर,’ ‘तिमी घाम म छाया,’ ‘रुमाल धो’को छु,’ ‘फूलको थुंगामा,’ ‘सुनपानीले छर्क मायालु’ जस्ता थुप्रै गीत चर्चित छन् उनका।

२०५६ सालमा उनले पहिलो गीत रेकर्ड गर्दा चार दिन लगाएका थिए। कारण थियो— डर। डरैडरैमा चार दिन लगाएर गाएको गीतले नै उनको सांगीतिक यात्रा तय गरिदिएको थियो। गीत हिट भएपछि लोकदोहोरी क्षेत्रमा राजु तरङ्गत नै भए। उनलाई खोज्ने गीतकार, म्युजिक कम्पनीको संख्या बाक्लियो। जीवनमा पहिलो गीत रेकर्ड गर्दा गायक नारायण रायामाझीको अगाडि थरथर काँपे। सम्झिन्छन्, ‘नारायण रायामाझीको रिमा रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्दा साह्रै डराए थिएँ। ‘किसिम कोटमा चरी नाचेको’ भन्ने बोलको गीत थियो। त्यो गीतपछि मेरो डर मात्रै हराएन, मैले पछाडि फर्किएर पनि हेर्नु परेन।’

डरको सकस पार गरेर लोक संगीतको दुनियाँमा स्थापित हुन पुगेका राजु बाल्यकालदेखि नै गाउँथे। गीतसंगीतको वातावरण उनकै परिवारमा थियो। राजुका बुवा र हजुरबुवाले पनि गीत गाउँथे। पञ्चेबाजा बजाउँथे। पुर्ख्यौली पेशा नै थियो गीत गाउनु। पारिवारिक माहोलका कारण पनि उनको सानैदेखि संगीतमा रुचि जाग्यो। मिश्रित समाज भएकाले राजुले सानैदेखि फरक भाका र संस्कृति बुझ्ने मौका पनि पाए।

आमा निकै सुरिलो गाउने गरेको सम्झिन्छन् उनी। आमाले अहिले कान कम सुने पनि गीत स्पष्ट गाउने गरेको बताउँछन् राजु।

‘आमाले निकै मीठो गाउनुहुन्थ्यो। र बुवा पनि खुबै गाउनुहुन्थ्यो। दुवैजना लमजुङको ठाडो भाका गाउनुहुन्थ्यो। हाम्रो परिवारमा गीत गाउनु र पञ्चेबाजा बजाउनु त परम्परागत पेशा नै हो। त्यो उर्जाले मलाई प्रेरणा दियो सायद। साथै मेरा गुरु स्वर्गीय जीवन घिमिरे सरले निकै प्रेरणा दिनु भयो। त्यो समाजका दिग्गज व्यक्तिहरु, जसले मलाई गाउन सिकाउनु भयो। देउसीभैली होस् कि साँस्कृतिक कार्यक्रम होस्, गीत गाउन म सधैं अग्रसर हुन्थेँ,’ उनले भने, ‘पुर्ख्यौली पेशा अन्तर्गत पाएको गायकी हो। अहिले पनि त्यसैलाई लिएर हिँडेको छु।’

गीत गाउन वनपाखा मात्रै काफी हुँदैन। लोकदोहोरी त सबैभन्दा गाउँमा रत्यौली घरमा हुन्थ्यो। तर केटा मान्छेलाई रत्यौलीमा अनुमति हुने कुरै भएन। तर राजुलाई गीत गाउने तलतलले खपिनसक्नु हुन्थ्यो। अनि उनी उपाय निकाल्थे रत्यौलीमा जाने। गीत गाउने। राजु आमाको फरिया या लुङ्गीको घुम्टो ओढेर लुकेर त्यहाँ जान्थे।अहिले त्यो सम्झिँदा उनलाई रमाइलो लाग्छ। रत्यौलीको रंगीन माहोल, चटक अनि गाउँले भाका। राजुलाई अहिले पनि ती पलले रोमाञ्चकता दिन्छन्। आमाको फरियामा लुकेर गाउने उनलाई जोकोहीले केटी नै सोच्थे। किनकि उनको स्वर त्यो समय केटीको जस्तो आउँथ्यो। मीठो स्वर, मसिनो लय, मिलेका शब्दले सबैलाई तान्थ्यो।

रत्यौलीमा गाउँदा सबैले उनलाई केटीले गाएको सोच्थे। किशोर उमेरमा पनि उनको आवाज केटीको जस्तो थियो। ‘रत्यौलीमा को केटीले गाएकी हो यति मिठो भनेर जब मेरो घुम्टो निकालेर हेर्न खोज्थे। म बच्ने कोसिस गर्थेँ तर पक्रिहाल्थे। म लाजले भुतुक्कै हुन्थेँ। तर गाउन छोडिनँ। विस्तारै आवाज पनि बदलिँदै आएको हो,’ उनले भने।

‘सानोमा स्वर पनि डिट्ठो केटीकै जस्तो थियो, केटा हो भनेर कसैले शंकासमेत गरेनन्,’ उनी भन्छन्, ‘रोधीको रन्कोले छोइसकेको म केटीको स्वरमा गाउँथें।’

तर बिहान भएपछि भने रत्यौलीमा राति गीत गाउने फलानाको छोरो राजु पो रहेछ भनेर त्यहाँ जानेहरुले थाहा पाउँथे।

रोधीमा रमाइलोका लागि गाउने गरेका उनको रस त्यसैमा बस्यो। पहिलो पटक रोधीघर छिर्दा कुन गीत गाए उनलाई थाहा छैन, तर दर्शकको गड्गडाहट ताली सुनिएको थियो। दर्शकले उनको गायकी र गीत मन पराएको छनक थियो त्यो।

‘गाउँको रोधीमय, मादलमय माहोल अनि पारिवारिक विरासतले मलाई तान्दै लग्यो, जसको कारण राजु परियार गायक राजु परियार बन्यो,’ उनी विगत सम्झिँन्छन्।

धुनसँग उनको आत्मीयता निकै पुरानो छ। उनी रोधी र रत्यौलीलाई आफ्नो संगीतको पहिलो पाठशाला मान्छन्। रोधीले उनलाई गाउन मात्रै सिकाएन, हृदयमा संगीतको बास बसाइदियो।

स्कुल भर्ना नहुँदै उनले सुरलयको तारतम्य मिलाउन, शब्दको वाण हान्न र रिदम समात्न सिकिसकेका थिए।

रोधीमा पनि उनले गाएका टुक्कामा हरेकले ताली बजाउँथे। राम्रो गाएको भन्दै प्रशंसा गर्थे। रोधीमा छाउन थालेपछि उनका बुवाले पनि छोराको प्रतिभा चिने। पहिले अरु नै काम गर्नुपर्छ भन्ने बुवाले त्यसपछि यो बन्नुपर्छ भनेर कर गरेनन्।

गाउँघरमै गीत गाएर मन जितेका राजुले २०५३ सालतिर जिल्लाकै एक लोकगीत प्रतियोगितामा प्रथम भएका थिए। त्यसैगरी थुप्रै लोकदोहोरी प्रतियोगितामा उनले आफूलाई विजेता बनाउँदै लगे। दर्शक स्रोताको पनि मन जित्दै गए। यसरी उनको गायकी चिनेरै लोक गायक बद्री पराजुलीले काठमाडौंस्थित पुकार रेष्टरेन्टमा मेरा ठाउँमा तँ गाउनु भनेर जिम्मा लगाइदिए। उनी पनि काठमाडौंमा गीत गाउन पाउने रहर बोकेर आए। सुन्धारामा धेरैपटक हराए तर उनीबाट गीत हराएन। गायकी हराएन।

मासिक ५५० रुपैयाँ तलब थाप्थे पुकार दोहोरीमा गीत गाए उनले। गायकी मन पराएर धेरैले टिप्स दिन्थे। टिप्स गरेर मासिक तीन हजारसम्म कमाइ हुन्थ्यो।

पुकारमा तीन वर्ष काम गरेका उनी पछि ठमेलमा रहेको दोभान दोहोरी साँझमा काम गर्न थाले। त्यहाँ दुई वर्ष काम गरेपछि उनको प्रतिभा अरु निखारियो। उनको स्वर मन पराउनेहरु बढ्न थाले।

‘पुकारले बाटो देखायो, दोभानले पब्लिसिटी गर्‍यो। नसा–नसामा संगीत भएकाले अहिलेसम्म म यो क्षेत्रमा छु,’ राजु भन्छन्। दोभान दोहोरीमा गीत गाउँदा उनको जोडी शिला आलेसँग जम्यो। राजु र शिलाको दोहोरी घम्साघम्सी सुन्न हेर्न टाढाटाढाबाट दर्शक आउँथे।

गीतसंगीत नै भनेर हिँडे राजु। तर एकाएक हराए। धेरैले उनलाई मदिराको लतमा परेर हरायो भन्ने आरोपसमेत लाग्यो। तर उनी यो कुरालाई शतप्रतिशत स्वीकार्दैनन्।

‘न्वारनमै मदिरा चाटेर हुर्किएको थिएँ। मदिरा पिउने समुदायमै जन्मिएँ हुर्किएँ। अब यसको लतमा परेर गाउनै भने छोडिनँ। केही वर्ष भने कम पक्कै गाएको चाहिँ हो,’ उनले भने, ‘मैले चिया पिए पनि मदिरा पिएझैं देखिन्छ। अहिले ६–७वर्ष भयो मैले त्योबाट टाढा छु। त्यो दुश्मनैजस्तो भयो।’

लमजुङ चिसापानीमा दलित, मगर र गुरुङ समुदायमा हुर्किएका परियार आफूले बाँचेको समुदाय र समाजमा मदिरा अनिवार्यजस्तो थियो। चाडपर्व विवाहवर्तन र मर्दापर्दा पनि मदिरा चाहिने भएपछि त्यसको संगतमा पर्न खासै नौलो थिएन।

पचासको दशकमा एकैदिनमा १९ वटा गीतसम्म गाउँथे। बिहान सात बजेदेखि राति ७ बजेसम्म गीत रेकर्डमै भुल्थे उनी। कामको कुनै कमी थिएन र पनि उनी किन गीतसंगीतबाट पलायन हुन खोजेका थिएन त? यो जिज्ञासा सधैं आइरहन्छ।

सत्तरीको दशकको सुरुवातीतिर विल्कुल गुमनाम भए उनी। गीत–संगीतबाट हराए। फ्यानले उनलाई खोजिरहे। उनी भन्छन्, ‘हराएको चाहिँ सत्य हो। तर मदिराकै लतमा परेका कारण हराएको चाहिँ होइन। घरयासी कामका कारण केही समय गीतसंगीतबाट टाढिएको चाहिँ हो।’

एक जना स्रष्टा आफ्नो गायन कर्मलाई एकाएक छोडेर हराउँदा शंका गर्नु पनि स्वभाविक पनि हो। तर, परियार गीतसंगीतबाट कहिले नटाढिएको जिकिर गर्छन्। हराएको भनिएको चार वर्षजस्तो गीत कम गाएको बताउँछन्। तर लतमा परेको आरोप लगाउनेप्रति पनि उनी खासै गुनासो गर्दैनन्।

सहरको मिडियाले राजुलाई खोज्यो। सोध्यो— के गर्दै छन् त लोकदोहोरीका बादशाह राजु?

राजु भने कहिले सामाखुसीका गल्लीमा भेटिन्थे। कहिले नयाँ बजारका गल्लीमा। चर्चाकै बीचमा रेकर्डिङ स्टुडियो र स्टेज कार्यक्रममा उनको सहभागिता पातलिँदै गएको थियो।

पहिले संख्यात्मक हिसाबमा धेरै गीत आउने र पछिल्लो समय कम गीत आएका कारण पनि श्रोता–दर्शकले हराएको सोचेको हुनसक्ने राजु बताउँछन्।

‘रोमरोममा संगीत भएकाले यो क्षेत्रमा आएको हुँ। यसले मलाई बाँच्न सिकायो। लमजुङको सामान्य परियार ठिटोलाई राजु परियार बनायो। संगीत छाड्न त सास जानुपर्छ,’ उनले संगीतप्रतिको मोह पनि सुनाए।

मिडियाबाजी गरेर रेडियो, टीभी, अनलाइन र युट्युबमा छाउनु ठूलो कुरा नभएको उनी बताउँछन्। ‘मिडियामा आए मात्रै संगीतमा छ भन्नु गलत हो,’ राजु भन्छन्।

जीवनमा आफ्ना गीतले समाजलाई के कति परिवर्तन गर्‍यो भन्ने सम्झिँन चाहँदैनन् उनी। हुन त उनले जातको विषय, प्रेमको विषय, वैदेशिक रोजगारीमा जाने तन्नेरीलाई रेक्ने कोसिस गीतसंगीतबाटै गरे। उनी भन्छन्, ‘गायकभन्दा पनि साधक बन्छु भनेर लागिरहेको छु।’

मायाप्रेमका गीत धेरै गाइसकेका उनी अब संगीतलाई समाजसँग जोड्न लागिपरेका छन्। ‘समाजमा सकारात्मक सन्देश जाने, समाजलाई सही बाटोमा हिँडाउन सक्ने गीतलाई प्राथमिकता दिँदा संख्या कम हुन गएको हो,’ राजु प्रष्ट्याउँछन्, ‘अहिले गीत छनोटमा ध्यान दिएको छु।’

राजुले बलजफ्ती गाउन सिकेनन्। र उनी भन्छन्, ‘लक्ष्मीले बास नगरे पनि सरस्वती गलामा बसिदिएकी छन्।’

अहिले पनि लोकगीत हुन्थेन भने लोकसंस्कार हुँदैन्थ्यो जस्तो लाग्छ उनलाई। लोकलयबाट अझै समाज टाढा भएको छैन। आफू त्यही लोकलय पछुवा भएर सांगीतिक दुनियाँमा चिनिन सकेको बताउँछन् उनी। यति हुँदाहुँदा पनि नयाँ पुस्ताका लोक गायक तथा स्रष्टाहरूले बाटो बिराउने हुन कि भन्ने चिन्ता सुनाउँछन् उनी। अहिले लोकगीत क्षेत्रमा सक्रिय युवाहरू सही निर्देशनमा हिँड्दैनन् कि भन्ने चिन्ता चाहिँ देखिन्छ।

उनका लागि आजको समय लोकदोहोरीको स्वर्णिम समयमा छौँ। हिजोको अग्रजले गाइदिएकै कारण आजका गायकले व्याज खान पाएको बताउँछन् उनी। चर्चित लोकगायकहरुले च्यापेर नहिँडिदिएको भए सांगीतिक यात्रा यति फराकिलो नहुने बझाइ छ उनको।

लोकस्टार नामक टेलिभिजन रेयालिटी शोका निर्णायकहरुमध्ये एक उनी पनि हुन्। ‘जज’ बन्न गाएर मात्रै पुग्दैन भन्छन् उनी। उनका अनुसार गीतसंगीत सुनेर मात्रै होइन अध्ययनका खाँचो खट्किएको छ। र अहिले गीतसंगीतको अध्ययनमा लागेको बताउँछन् उनी।

उनी भन्छन्, ‘अहिले धेरै भाइबहिनीहरू पढेर आएका छन्, म त मात्र दश कक्षा पढेको मान्छे हुँ। लोकदोहोरी धेरै अध्ययन गर्न आवश्यक छ। गाउँगाउँमा लोकभाका छ। भाषा छ। त्यो बुझ्न र सिक्न त अध्ययन आवश्यक छ। म सिक्दै छु।’

राजु अहिले ‘लाइभ दोहोरी’ मा पनि गाउन पुग्छन्। तर, लोकदोहोरी लाइभले भित्र्याएको छाडापन देखेर उनी धेरैपटक मञ्चैबाटै उठेका छन्। फर्किएका छन्। उनी भन्छन्, ‘गीत गाउन बोलाउँछन्। अलिअलि यस्तो भावको पनि गाइदिनु भनेर भन्छन्। मलाई मन लाग्दैन। छोडेर हिँडेको छु।’

  • राज सरगम
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?