
काठमाडौं- परीक्षा नियन्त्रण कार्यालय (पनिका)को चरम लापरवाहीका कारण विद्यार्थीको उत्तरपुस्तिका हराएको भन्दै नेविसंघका विद्यार्थीले प्रदर्शन गरेका छन्।
नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसं)का विद्यार्थीले बिहीबार बिहान भिसी (उपकुलपति) काे कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
पनिकाको लापरवाहीका कारण स्नातक तह (बिए) प्रथम वर्षको जनसंख्या विषय र स्नातक तह प्रथम वर्षको ‘फाउण्डेसन अफ एजुकेसन ४१२’ उत्तर पुस्तिका हराएको छ।
उत्तर पुस्तिका हराएपछि पनिकाले चैत २१ गतेदेखि पुनः परीक्षा गर्ने तयारी थालेको छ। ‘फाउण्डेसन अफ एजुकेसन ४१२’ को विषयमा भने पनिकाले हालसम्म गोप्य नै राखेको छ। यसको लागि छानबिन गरी दोषिमाथि कारवाही गर्ने उपकुलपति प्रा डा केशरजंग बरालले जनाएको भए पनि आफूले एक पटक दिइसकेको परीक्षा पनिकाको गल्तीका कारण विद्यार्थीले पुन दिनुपर्ने बाध्यता हुनु खेदजनक रहेको भनी चौतर्फी आलोचना भइरहेको छ।
प्रदर्शनमा सहभागीहरूले नेतृत्व फेरिए पनि प्रवृति नफेरिएको भन्दै सोको विरोध गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सुमना श्रेष्ठ मन्त्री बनेपछि पनि प्रश्न पत्रहरू हराउने पुरानो प्रवृतिले निरन्तरता पाएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
उनीहरूले ‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना?’ लेखेको पम्प्लेट बोकेर नारावाजीसमेत गरेका थिए।
प्रदर्शनकारीले मन्त्री फेरिए, भिसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन, कबाट कछुवा खबाट खरायो हाम्रो उत्तर पुस्तिका कता हरायो?, घाम ताप्ने र कुरामात्रै काट्ने कर्मचारीलाई बर्खास्त गर, कर्मचारीको दादागिरी कहिलेसम्म? लगायतका पम्प्लेट बोकेका थिए।
थप तस्बिरहरू: