
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ। उपाधि होडमा रहेको साविक च्याम्पियन म्यानचेस्टर सिटी र आर्सनलले आइतबार राति गोलरहित बराबरी खेलेपछि लिभरपुल शीर्ष स्थानमा रहन सफल भयो।
आइतबारनै सिटी र आर्सनलको खेल अघि ब्राइटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो। कम्तिमा केही घन्टाका लागि शीर्ष स्थानमा रहेको मानिएको लिभरपुलले सोचेकै नतिजा प्राप्त गर्दा शीर्ष स्थानमा आफ्नो पकडलाई कम्तिमा अर्को एक खेलका लागि लम्ब्याउन सफल भयो।
सिटीको घरेलु मैदानमा शीर्ष स्थानको होडमा रहेको सिटी र आर्सनल दुबैले गोलरहित बराबरी खेलेपछि लिभरपुललाई राहत महसुस भएको हो। २९ खेलको समाप्तीपछि लिभरपुलले दूई अङ्कको अग्रता बनायो। लिभरपुल ६७ अङ्कका साथ शीर्ष स्थानमा रहन सफल हुँदा आर्सनल ६५ अङ्कका साथ दोस्रो र सिटी ६४ अङ्कका साथ तेस्रो स्थानमा रहेका छन्।
लिभरपुल र सिटीबिचको विजेताले उपाधि जित्ने अनुमानहरु भएका थिए। तर सिटीले दबाब बनाएको खेलमा सिमित अवसरबिच आर्सनल गोल गर्न असफल भयो। यद्यपि तुलनात्मक रुपमा खेलमा दबाब बनाएको सिटीले गतिलो मौका सिर्जना गर्न सकेन।
त्यसअघि लिभरपुलले १-० ले पछि रहेको अवस्था उल्टाउँदै महत्वपूर्ण तीन अङ्कका साथ शीर्ष स्थानमा उक्लियो। ब्राइटनले दोस्रो मिनेटमै डेनी वलबेकको गोलमार्फत घरेलु समर्थकलाई सुरुवातमा स्तब्ध बनाएको थियो। तर खेलमा फर्कने क्रममा लिभरपुलले तर लिभरपुललाई लुइस डियाजले खेलमा फर्काए।
पहिलो हाफमै बराबरी फर्काउने क्रममा डियाजले २७ औं मिनेटमा गोल गरेका थिए। टिमका लागि निर्णायक गोल भने मोहम्मद सलाहले गरे। ब्राइटन विरुद्ध म्याक एलिस्टरको पासलाई सलाहले सदुपयोग गर्दा लिभरपुलको तीन अङ्क निश्चित भएको थियो। सलाहले लिभरपुलका लागि प्रिमियर लिगमा जारी सिजन १६ गोल पुरा गरेका छन्। यद्यपि उनले १७ फेब्रुअरीपछि पहिलो गोल गर्न सफल भए।