
पोखरा- गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।
आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा ३१ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रबाट सभामुखकोसहित ८ र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ (दीपक मनाङे) हस्ताक्षरसहित दाबी पेश भएको छ ।
स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी रोजेका दीपक मनाङेलाई सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, उनले फेरि एमाले-माओवादी गठबन्धनलाई रोजेका छन् ।
चैत २१ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले बहुमत समर्थन जुटाएर चैत २७ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
एमाले-माओवादी गठबन्धनले दीपक मनाङेलाई मनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन नपाएमा विश्वासको मत लिनेबेलासम्म सभामुख र उपसभामुख दुवैलाई राजीनामा दिन लगाउने रणनीतिमा छ । एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई पनि सरकारमा सहभागी गराएर जसै विश्वासको मत लिने अर्को रणनीति हो ।