
पोखरा- गण्डकीमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले ३ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।
मुख्यमन्त्री अधिकारसँगै नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) ले सपथ लिने तयारी गरेका हुन्।
माओवादी केन्द्रले कसलाई सरकारमा पठाउने विषयमा छलफल गरिरहेको छ । ‘एक जना मन्त्री पठाउने भन्ने हो । कसलाई पठाउने टुंगो लागेको छैन, छलफलमै छौं’, संसदीय दलका नेता हरिबहादुर चुमानले भने । विनाविभागीय मन्त्रीका रुपमा सपथ लिने तयारीमा रहेका दीपक मनाङे गण्डकीमा पाँचौै पटक मन्त्री बन्न लागेका हुन् । हालसम्म ६ पटक सरकार अदलबदल हुँदा मनाङे पाँचौ पटक मन्त्री बन्दैछन् ।
राप्रपा, माओवादी केन्द्रको समर्थन जुटाएर गत वर्षको चैैत १० गते पहिलो पटक मुख्यमन्त्री बनेको नेकपा एमालेका खगराज अधिकारी नेतृत्वबाहेकको हरेक सरकारमा मनाङे मन्त्री बनिरहेका छन् ।
उनलाई निर्वतमान् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री बनाएका थिए । पाण्डेले सत्ता टिकाउन भौतिक पूर्वाधारको बागडोर सम्हालन दिएपनि कित्ता फेरबदलमा पोख्त मनाङे २० दिनमा दोस्रो पटक मन्त्री बनेर सपथ खान लागेका हुन् । विनाविभागीय मन्त्री सपथ लिन लागेका मनाङेको रोजाइमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहेको स्रोतले जनाएको छ ।
मनाङे पहिलो पटक २०७८ बैशाख १६ गते मन्त्री बनेका थिए । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए । त्यतिखेर उनी १० दिनमात्रै सत्तामा रहे । बैशाख २६ मा तत्कालिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि मनाङे स्वतः मन्त्री पदबाट हट्नुपर्यो।
संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा पृथ्वीसुब्बा बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए । सत्ता टिकाउने होडमा मनाङेलाई तत्कालिन मुख्यमन्त्री गुरुङले दोस्रो पटक मन्त्रीमा दोहोर्याए । ५ जेठमा युवा तथा खेलकुद मन्त्री बनेका मनाङेले चार दिनपछि सपथ लिए ।
पृथ्वीसुब्बाले मन्त्री बनाएका मनाङे उनको सरकार ढाल्ने मुख्य अस्त्र बने । पृथ्वीसुब्बा नेतृत्वको सरकार ढाल्न सघाएका मनाङे नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा पनि मन्त्री बन्न सफल भए । कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा बहुमत ‘३१’ पुर्याउन निर्णायक भूमिका खेलका मनाङे २०७९ असार २७ गते तेस्रो पटक खेलकुदमन्त्री बनेका थिए । हरेक पटक कित्ता बदल्दै मन्त्री बन्न सिपालु मनाङेले गण्डकीमा पाँचौ पटक मन्त्री बनेर रेकर्ड बनाएका छन् ।
पछिल्लो पटक अल्पमतमा परेको कांग्रेस नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनको मनाङेले एमाले माओवादीको गठबन्धनमा नजाने बताएका थिए ।
‘म जान्नँ किनभे घरीघरी यहाँ आएर माइकमा बोल्न कति आउने यार अल्छी लाग्छ । मजा आउदैन के । मेरो केही काम छैन जहिले पनि यहाँ आएर ढाकाटोपी लाउदै बस्ने ? यो मेरो काम होइन’, प्रदेश प्रमुखको निवासमा सपथ लिएपछि उनले भनेका थिए ।
उनले थपेका थिए, ‘मेरो कारण उनीहरुको सरकार बन्छ भने म गर्दिन्छु फेरि ।’
गुण्डा नाइकेको पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङले २०७४ को निर्वाचनमा एमाले समर्थनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘ख’ बाट निर्वाचित हुँदै प्रदेश सभा छिरेका थिए। २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे सर्वसम्मत हुँदै दोस्रो कार्यकाल प्रदेश सभामा छिरेका हुन् । पछि उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजे ।
चैत ४ गते प्रदेश सभा सचिवालयमा स्वतन्त्रको हैसियत माग्दै निवेदन दिएका थिए । त्यसकोे भोलिपल्टै उनी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक मन्त्री बनेका हुन् । कांग्रेस नेतृत्वको सरकारमा गएकाले नेकपा एकीकृत समाजवादीले उनलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको थियो ।