
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्।
मंगलबार काठमाडौँका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरुमा थपिएको बताए।
उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानिछानी आक्रमण गर्न लगाएको आरोप लगाए। उनले निषेधित क्षेत्रभन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए।
उनले आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताए। उनले राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधानविपरीत रहेको भन्दै तोड्ने योजना बनाई प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताए।
उनले भने, ‘गृहमन्त्रीले लक्षित गरेर निषेधित क्षेत्रभन्दा बाहिर रहनुभएका हाम्रा माननीय बुद्धिमान तामाङलाई आक्रमण गरी घाइते भएको कुरा छ। अब यो सरकारको विरुद्ध यो गृहमन्त्रीको राजीनामाको माग लिएर फेरि आन्दोलन सुरु हुन्छ, दमनको विरुद्ध अझ बलियो भएर लाग्छ। निषेधित क्षेत्र मात्रै तोड्ने भनेका हौँ, कुनै तोडफोड गर्ने भनेका थिएनौँ। यो निषेधित क्षेत्र संविधानअनुसार छैन। संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको छ। ४० बुँदे माग त छँदैछ, यो बर्बर दमन गर्ने र लखेटीलखेटी र छानिछानी आक्रमण गर्ने गृहमन्त्रीको राजीनामा थपिएको छ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतले सभालाई सम्बोधन गर्दै सिंहदरबार भ्रष्टाचारको अखडा भएको आरोप लगाए।
राप्रपाले विरोध प्रदर्शनपछि थापाथली चोकमा कोषसभा गरेको हो। राप्रपाको प्रदर्शनका कारण मंगलबार राजधानीको सवारी आवागमन अस्तव्यस्त भएको थियो। आफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु घण्टौँ जाममा परेका थिए।