
नेपाली सिनेमा पहिचानको चरम सङ्कटमा रुमल्लिरहेको बेला कालो आकाशमा चाँदीको घेरा झैँ मौलिक र सशक्त दृश्य भाषा निर्माण गर्ने क्षमताका साथ शुक्रबारदेखि क्यु.एफ.एक्स (नेपाली सिनेमालाई सम्मानजनक व्यवहार नगरेको भन्दै निर्माता र निर्माण पक्षले भद्र अवज्ञा गरेको) बाहेक देशभरका हलहरूमा फिडेल देवकोटाद्वारा निर्देशित र रामकृष्ण पोखरेलद्वारा निर्मित सिनेमा ‘द रेड सुटकेस’ चैत ३० अर्थात् आजदेखि रिलिज भएकाे छ। सिनेमाले वैदेशिक रोजगारीमा जाने समग्र नेपालीको प्रतिनिधित्व गर्दै राष्ट्रिय समस्यामा ध्यान केन्द्रित गराएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्कमा लगभग १५ वर्षमा १२ हजार विदेशमा काम गर्न गएका नेपालीले ज्यान गुमाएका छन्। यसै पृष्ठभूमिमा आधारित नेपाली समाजको आर्तनाद सिनेमाले कलात्मक रूपमा प्रस्तुत गरेको छ।
सिनेमाले पहिलो सर्टदेखि नै दर्शकको धैर्यताको अपेक्षा गर्छ। कालो पर्दामा विदेशमा भएको श्रीमान् धने ( प्रवीण खतिवडा) र गाउँमा भएकी श्रीमती जसलाई धनेले मालिक्नी भनेर सम्बोधन गर्छ (सृष्टि श्रेष्ठ) बीचको संवाद प्रस्तुत गरिएको छ। उनीहरू छोरीको बारेमा कुरा गर्छन् र बिदा मिलाएर छोरी भेट्न आउन श्रीमतीले अनुरोध गर्छिन्। श्रीमानले बिदा नमिल्ने आशय व्यक्त गर्छ। अनि फोन अचानक काटिन्छ। पर्दामा पहिलो दृश्य देखा पर्छ, जसमा सिनेमाको अर्को पात्रको प्रवेश हुन्छ।
सौगात मल्ल विमानस्थलबाट वैदेशिक रोजगारीमा काम गर्न जाने व्यक्तिहरूको विदेशबाट बाकसमा आएको लास निज व्यक्तिको घरसम्म पुर्याउने काम गर्छ। उसले एउटा बाकस गाडीमा हाल्छ अनि दिइएको ठेगानातिर लाग्छ। बाटोमा उसले एक भूतपूर्व भारतीय सेनामा काम गर्ने सिपाही (विपिन कार्की) कोमा रात बिताउँछ। बिहान झिसमिसेमै उठेर आफ्नो गन्तव्यतिर लागेको केही घण्टापछि लास धनेकी श्रीमतीलाई जिम्मा लगाएर ऊ फर्किन्छ। उसलाई सायद एयरपोर्टबाट अर्को लास डेलिभरी गर्न फोन आइरहेको हुन्छ। कथाको बाहिरी स्वरूप यही भए पनि कथा वाचन शैली विशिष्ट र अद्वितीय रहेकाले यसको मूल भाव बुझ्न सिनेमा हेर्नै पर्छ।
‘द रेड सुटकेस’ सिनेमाको सबैभन्दा सफल पक्ष यसले निर्माण गरेको दृश्य भाषा हो। के हो त सिनेमाको पर्दामा निर्माण हुने दृश्य भाषा भनेको? शाब्दिक अर्थमा दृश्य भाषा भन्नाले निर्देशकको पर्दामा दृश्य उतार्ने कलात्मक शैली हो। अर्थात् दृश्यको माध्यमबाट पर्दामा निर्माण गरिने भाषा।गैर चलचित्र क्षेत्रका पाठकले पनि बुझ्ने गरी भन्दा “दृश्य भाषा” भन्नाले कुनै विषय, प्रसङ्ग वा बस्तुको अर्थ या दृष्टिकोण प्रस्तुत गर्न प्रयोग गरिने दृश्य चित्रको संयोजन हो। यसका चार वटा आधारभूत तत्त्वहरू हुन्छन्। पहिलो दृश्यांश (सट) दोस्रो दृश्य अनुक्रम (सट सिक्वेन्स) तेस्रो दृश्य स्थल (सिन) र घटनानुक्रम (ड्रामाटिक सिक्वेन्स)। यी तत्त्वहरूको अर्थपूर्ण संयोजनबाट कुनै पनि देशका सिर्जनशील कला निर्देशक, सिनेम्याटोग्राफर र निर्देशकले आफ्नो परिवेश, भाषा, धर्म र संस्कृति अनुरूपको दृश्य भाषा निर्माण गर्न सक्छन्। अझ बृहत् अर्थमा भन्दा सिनेमा हेर्नेबित्तिकै उक्त सिनेमा कुन भूगोल, कस्तो संस्कार र संस्कृति, कहाँको र कस्तो सभ्यता, कस्ता नागरिक र वेषभूषा प्रतिनिधित्व गर्छ भन्ने प्रतिविम्बले दृश्य भाषाको निर्माण गरेको हुन्छ।
दृश्य भाषाको निर्माणसँग जोडिएको एउटा पक्ष हो, सांस्कृतिक पहिचानका विषय, विम्ब र प्रतीकहरूको प्रयोग। उदाहरणको लागि हामीले नेपाली चलचित्रमा देखाउने भूत या त बलिउड स्वरूपको सेतो कपडा लगाएर मैन बत्ती बोकेको हुन्छ या त हलिउडको कुरूप र कुच्चिएको अनुहार भएको डेभिल स्वरूपको। हाम्रा भूतका स्वरूपहरू आफ्नै छन्। मसान, लाखे, मुरकुटा, मुकुन्डो, घण्टाकर्ण (गठे मङ्गल) आदिका स्वरूपमाथि अलिकति खोज र अनुसन्धान गरेर चरित्र निर्माण गरिएका राक्षस र प्रेतात्माहरूको प्रयोगले हाम्रा चलचित्रलाई प्राङ्गारिक पहिचान दिलाउन मद्दत गर्छन्।
चलचित्रको पहिचानसँग जोडिएको अर्को पाटो हो, हाम्रो समाज र देशको पहिचान। नेपाललाई सगरमाथा, बुद्ध र गोर्खालीहरूको देश भनेर चिनिन्छ। पराधीनता नभोगेको विश्वका थोरै स्वतन्त्र देश हरू मद्येको एउटा देश हो नेपाल। हामीसँग पराजित मानसिकता र औपनिवेशिक भावनाको आत्मपीडा छैन। यही पहिचानलाई चलचित्रले आत्मासाथ गर्न सकेन भने देशको मर्म र भावना कलाले प्रतिनिधित्व गर्न नसकेको बुझिन्छ। विश्वका दुई ठूला चलचित्र बजारहरू चीन र भारतसँग हाम्रो साँस्कृतिक, धार्मिक र वैवाहिक इतिहास ( स्रङ्चनगम्पो र भृकुटी तथा राम र सीता)को वैवाहिक सम्बन्ध जोडिएको कुराले हाम्रो लागि विशाल बजारको ढोका खोल्न सक्छ। हाम्रा मन्दिरका टुँडाल, विश्व सम्पदा सूचीमा रहेका स्थल, मन्दिरका आकृति, पहाड, तराइ र हिमाल, धर्म र संस्कृति कुनै न कुनै रूपमा चलचित्रमा चित्रण गरेर नेपाली मौलिकता र पहिचानको आधार तयार गर्न सकिन्छ।
आधुनिक नेपाली समाजको अर्को विशेषता प्रवासी जीवन बनेको छ। हरेक सहर, गाउँ, दूरदराजबाट प्रत्येकजसो परिवारका सदस्य रोजगारी अथवा अध्ययनको सिलसिलामा विदेशमा छन्। त्यसको प्रत्यक्ष वा परोक्ष रूपमा देखिने पारिवारिक, सामाजिक आर्थिक र मनोवैज्ञानिक प्रभावको प्रतिनिधित्व र चित्रण बिना नेपाली चलचित्र पूर्ण हुन सक्दैन। आजको हाम्रो समाज लगभग सबै हिसाबले यही सामाजिक यथार्थको चक्कर लगाइ रहेको छ। यो वैदेशिक रोजगारीका पीडा तथा आरोह अवरोह अनि डायस्पोरिक सेन्टिमेन्टको सुन्दर चित्रण नेपाली चलचित्रको पहिचान निर्माण गर्ने एउटा मानक बन्न सक्छ।
फिडेल देवकोटाको ‘द रेड सुटकेस’मा यस्ता थुप्रै प्रयोगहरू गरेका छन्। वैदेशिक रोजगारीका कारण गाउँहरू पुरुषविहीन भएको मार्मिक सामाजिक यथार्थलाई गाडीबाट लासको बाकस बोकेर आँगनसम्म पुर्याउने महिलाहरूको समूहले प्रतिनिधित्व गरेको छ। बाटोमा गाग्रोमा पानी बोकेका महिलाको लस्करले पनि त्यही भाष्य निर्माण गर्छ। लास पुर्याएर फर्किएको गाडी चालकले बाटोमा बयरको काँडा राखेर प्रेत आत्मा, पिसाच मन्साएको दृश्य विशुद्ध नेपाली दृश्य हो। यसले हाम्रो पारम्परिक आस्था र विश्वास झल्काउँछ। लोटाबाट पात्रले पिएको पानी, मोमो, कोल्ड ड्रिङ्कको बोतलमा रक्सी, हलो जोतेको दृश्य सबै नेपाली स्वादको दृश्य भाषा निर्माण गर्न सशक्त विम्बहरू हुन्।
नेपाली चलचित्रको पहिचानको अर्को आधार कथा वाचनको शैली, संरचना र स्वरूप हुनु पर्दछ। हामीले प्रयोग गर्ने कथा वाचनको शैली सयौँ वर्ष पुरानो प्रारम्भ, मध्य र अन्त्य शैलीनै हो। योभन्दा अलि आधुनिक शैली प्रयोग गरी हाल्यौँ भने स्मरण (फ्लासब्याक) र अग्रावलोकन (फ्लास फर्वड) शैली प्रयोग गरी रहेका छौँ। हाम्रा लोककथा, लघुकथा, काव्य, महाकाव्य, मिथक, पुराण आदि बिलकुल फरक संरचनाका कथा हुन् र यी कथाहरूको वाचनशैली र कथन पनि फरक हुन्छ।
देवकोटाले आफ्नो सिनेमामा जादुमय यथार्थवादको नयाँ शैली अपनाएका छन्। नेपाली सिनेमाको क्षेत्रमा यो नवीन शैली हो। कोलम्बियन लेखक ग्याब्रियल ग्रेसिया मार्केजले साहित्यमा सुरु गरेको शैलीपछि सलमान रूस्दीले प्रयोग गरे। स्वैरकल्पना र यथार्थबीच मसिनो पर्खाल बनाएर यथार्थको जादुमय चित्रण गर्ने शैली द रेड सुटकेसको अद्भूत कथावाचन शैली हो, जसले चलचित्रलाई विशिष्ट बनाइदिएको छ। गाडीमा तेल हाल्न जाँदा खाली गाडीमा एउटा बच्चाले हेरिरहेको दृश्य, बाटो हिँड्ने अर्को बटुवाले कोही नभएको गाडीलाई बाइबाइ गरेको दृश्यले जादुमयी प्रभाव दिएको छ। सुटकेस घिसार्दै बाटोको बिचमा हिँडिरहेको धने, पहिले नै मरिसकेको मानिसले गरेको पाहुना सत्कार र लासभन्दा अगाडि नै घर पुगेको आत्मा यस सिनेमामा जादुमय यथार्थवादको प्रयोग हो।
सिनेमाको छायाङ्कन सुसन प्रजापतिले गरेका छन्, जुन पारम्परिक शैलीलाई दरो चुनौती हो। निर्देशकको दृश्य भाषा निर्माण मिसनमा छायाकारको योगदान महत्त्वपूर्ण देखिन्छ। नेपालको भिजुअल ल्यान्डस्केपलाई यति सुन्दर र सिनेम्याटिक टच दिएका छन् कि पर्दाको क्यानभास विशाल र भव्य लाग्छ। धेरैजसो नेपाली सिनेमा हेर्दा टेलिभिजनमा चलचित्र हेरेजस्तो अनुभूति हुने गर्थ्यो तर द रेड सुटकेसले नेपाली सिनेमाको क्यानभास फराकिलो बनाइदिएको महसुस हुन्छ। सिनेमामा प्रयोग भएको स्टाटिक सटले कथाको अनौठो पेस स्थापित गरिदिएको छ। सायद स्थिरता र मानसिक शान्तिको सिनेम्याटिक अनुभव भनेको यही हो। पर्दामा पात्र र बस्तुको स्थान सटिक ढङ्ग पेस गरिएको छ। प्राविधिक र कलात्मक पक्षको सुन्दर सम्मिश्रणले कथाको भावमा सुगन्ध भरिदिएको महसुस हुन्छ।
सिनेमाले सामाजिक यथार्थको रूपमा माओवादी युद्धको बाछिटा पनि कलात्मक रूपमा पेस गरेको छ। लास बोक्ने गाडीको चालक गाउँबाट मुक्ति अधिकारी सरलाई छापामारले निर्ममतापूर्वक हत्या गरेपछि भागेर सहर पसेको विक्षिप्त मानसिकता पेस गरेको छ। चालकले लगाएको लुगामा लेखिएको सङ्ख्या १७ हजार ८८६ मलाई सबैभन्दा शक्तिशाली लागेको विम्ब हो। यो १० वर्षे माओवादी जनयुद्धमा मारिएका नागरिकहरूको सङ्ख्या हो।
सिनेमा कलात्मक छ तर यसले अहिले चलिरहेका हल्काफुल्का कथा र कमेडी सिनेमा मन पराउने दर्शकहरूको धैर्यताको राम्रै परीक्षा लिन्छ।कथा र घटना क्रमको गति एउटा सिनदेखि बाहेक ठिक्क छ। सौगात मल्ल र विपिन कार्कीको संवाद सुस्त र लामो छ तर यसलाई अभिनयको गहनताले छोपिदिएको छ। कथाको एउटा मुख्य विषय पनि यही संवादमा आउने हुँदा लामो दृश्य पनि अर्थपूर्ण नै लाग्छ। द रेड सुटकेसले नेपाली सिनेमाको अगाडिको बाटो कस्तो हुनु पर्छ भन्ने प्रश्नको सिधा उत्तर दिएको छ। कम लगानीमा अर्थपूर्ण र वजनदार सिनेमा जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उज्यालो बनाओस्। यस्तो सिनेमा जसले आफ्नै मौलिकतामा जग बसाओस्। जसले आफ्नै दृश्य भाषाको निर्माण गरोस्। यो सबै प्रयासहरूलागि द रेड सुटकेस मानक सिनेमा हो।