
पोखरा – ‘कालले भन्दा सम्झनाले लाने रहेछ दिदी!’, छोराको यादले मध्यरातको ऐंठनमा बरबर्ती आँशु खसाल्दा सम्झाइरहेकी सहेलीले भन्छिन्। वृद्धाश्रममा तड्पिएकी उनलाई सम्झनाका खातले आँशु मात्रै दिएपछि बिक्री गर्न उनै सहेली सुझाउँछिन्। छोराको सम्झनाले सताइरहेपछि बेच्ने निधो गर्छिन्। र उनी ‘स्मृति बिक्री केन्द्र’ पुग्छिन्।
एउटा युवक प्रेम वियोगमा पागल बन्छ। ‘सम्झना’को यादले उसलाई एकोहोरो बनाउँछ। यादले यतिसम्म तड्पाउँछ, एकान्तमा पनि उसले सम्झनालाई नै देख्छ । वेश्यालयकी युवतीलाई सम्झना ठान्छ।
यादका घाउले खपिनसक्नु भएपछि देहत्यागको स्थितिसम्म पुग्छ, सक्दैन। साथीले अर्ति दिन्छ, ‘बेचिदे उसका यादहरु। कति दिनसम्म पागल बनेर बस्छस्?’
ऊ पनि पुग्छ, ‘स्मृति बिक्री केन्द्र’ मा। उसले सम्झनाको सम्झना पैसा लिएर बेचिदिन्छ कहिल्यै नसम्झने गरेर। स्मृति बिक्री केन्द्रमा मान्छेहरुको भीड हुन्छ। ठाउँको, व्यक्तिको, प्रेम, यौन आदिको स्मृति बेच्नलाई।
दाइजोका कारण छोरी जलेपछि, बलात्कृत भएपछि, जनयुद्धले दिएको पीडा बिर्सन चाहनेहरु यादको घाउमा खत बस्न नसकेको स्मृति बेच्छन्। ‘स्मृति बिक्री केन्द्र’ले मेसिनको सहायताले सबैको स्मृति किन्छ पैसा तिरेर। सताइरहेका यादलाई बेचेर मान्छे धनी बन्छन्। किन्न पुग्छन्, लेखक, समाजशास्त्री र वैज्ञानिकहरु।
‘स्मृति बिक्री केन्द्र’को सुरक्षार्थ प्रवेशद्वारमा खटिएका गार्ड सबैलाई चेकजाँच गरेर बेच्ने ठाउँसम्म पठाउँछ। ऊ आफ्ना सम्झनाहरु भने बेच्दैन। एउटा लेखकसँगको संवादमा भन्छ, ‘सम्झना नभए त मान्छे अस्थिरपञ्जर भएर बाँच्छ।’
बिर्सन चाहनेहरुको यिनै दृश्य र संवादमा केन्द्रित नाटक ‘स्मृति बिक्री केन्द्र’ पोखरामा मञ्चन भइरहेको छ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख १ देखि नाटक मञ्चन सुरु भएको हो। वैशाख १५ गतेसम्म हरेक दिन साँझ ५ बजे नियमित मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त सो सञ्चालन गरिनेछ।
साहित्यकार बुद्धिसागरले १२ वर्ष अगाडि लेखेको कथा ‘स्मृति बिक्री केन्द्र’लाई रेनेसान्स थिएटर नेपालले प्रस्तुत गरेको हो। प्रविधिलाई साहरा बनाएर बाँचिरहेका मान्छेलाई याद बेगर बाँच्न सिकाउने कल्पना गरिएको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन्। पूरानो कथा भए पनि अहिलेको समाजसँग ‘कनेक्ट’ हुने भएकाले नाटक तयार पारेको उनी बताउँछन्।
‘धेरै पहिला पढेको कथा हो। त्यो कथा अहिलेको समाजको घटनासँग कनेक्ट गर्न सकिन्छ लाग्यो’, उनले भने, ‘अहिले यो मेसिन भए हामीले के गर्थ्यौँ? यादहरुलाई कसैले साहरा बनाउन सक्थे। कसैले बेचिदिन्थे।’
निर्देशक ध्रुव पौडेल पोखरेली रंगमञ्चमा नयाँ प्रयास गरेको बताउँछन्। ‘पोखराको रंगमञ्चमा नौंलो प्रयास गरौँ, फरक धारको नाटक देखाउँ भनेर लागेका छौँ’, उनले भने।
यादका दस्ताबेजमा अल्झिरहेका पात्रलाई जीवन्त बनाउन मधुर स्वरमा पृष्ठभूमिमा गुञ्जिन्छ ‘लैजाऊ न मेरा यी यादहरू…।’ कलाकारको प्रत्यक्ष गायन र वाद्यवादनले पोखरेली नाट्यप्रेमी कलाकारलाई नयाँ स्वाद पस्किएको छ। धुनहरुले दर्शकलाई बाँध्न सघाउँछ।
नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, लक्ष्मण डुम्रे, उमा पुन, शीतला अधिकारी, प्रियंका खड्का, विभु भुषाल, जनक पराजुली, कविता घर्ती मगर, विष्णु तिमिल्सिना, सन्देश भण्डारी, सुस्मिता काप्रीलगायतका कलाकारको अभिनय रहेको छ।