
हुम्ला – मानसरोवर बहुमुखी क्याम्पसले आफ्नै स्रोतबाट व्यवस्था गरेर विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ।
क्याम्पसको पठनपाठन कार्यमा सहभागिता बढाउन र जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर् याउनका लागि सीमित साधन–स्रोत भएको क्याम्पसले छात्रवृत्तिको व्यवस्था गरेको हो।
क्याम्पस प्रमुख दीपक भण्डारीले बुधबार बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले स्नातक तह र स्नाकोत्तर तहका गरी पाँच जना विद्यार्थीलाई आगामी शैक्षिक सत्रबाट छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेको बताए।
उनले क्याम्पसले आंशिक शिक्षकको व्यवस्था गरेको भए पनि विद्यार्थी पढाइका लागि कम उपस्थित हुन थालेपछि पढनपाठन कार्यमा बढीभन्दा बढी विद्यार्थी सहभागिता गराउन यो प्रयास गरिएको बताए। जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग पुर् याउनका लागि यो प्रयास गरिएको हो।
यसका लागि केही निश्चित सूचक राखेर विद्यार्थी छनोट गरिनेछ। छात्रवृत्ति रकम भने विद्यार्थीले एक वर्षमा क्याम्पसलाई तिर्दै आएको रकम बराबर हुनेछ।
त्यसैगरी, समितिको बैठकले क्याम्पसको विद्यान संशोधन तथा आर्थिक कार्यविधि निर्माणका लागि पाँच सदस्यीय समितिसमेत गठन गरेको छ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य राजन रावतको संयोजकत्वमा जंगबहादुर रोकाया, विनोद बोहरा, ताक्लाजिक्मेत लामा, गोरासिंह बोहरा र क्याम्पस प्रमुख दीपक भण्डारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो।