
काठमाडौँ – पाँच खेलको टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ। वेस्टइन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि कप्तान रोहित पौडेल १ सय १२ रनको सानदार इनिङ्स खेले। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै टिमको जितका लागि एकल लडाइँ लडेका थिए।
रोहितबाहेक थप दोहोरो स्कोरका रुपमा कुशल मल्लले १६ रन बनाएका थिए भने अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २४ रन बनाएका थिए। टिमको जितमा अन्तिम समयमा क्रिजमा आएका गुल्सन झा ९ रन र प्रतिश जिसी ५ रनमा अविजित रहे।
वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओवेड म्याक्कोइले समान २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो। वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७६ रन बनाए। त्यस्तै, एलिक अथान्जेले ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा कदिम एलियनीले १४ रन बनाएका थिए।
नेपालका लागि कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए। खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शक उर्लिएका थिए।