
२०६२ साल कात्तिक १३ गतेका दिन बिहान राष्ट्रिय निकुञ्जका एकजना कर्मचारीले हामीलाई मौखिक रुपमा सुनाए – यहाँ धेरै दिन बस्न मिल्दैन । ठाउँ पनि सानो छ । आज तपाईंहरुलाई डिल्लीबजार लैजाने । त्यहाँ बस्न सजिलो छ र मानिसहरुसँग भेटघाट पनि गर्न पाइन्छ…..।’ निकुञ्जको हिरासतमा हामीहरु तीन जना गुरुदेव, आश्रम कमिटी अध्यक्ष तथा गुरुदेवका भक्त द्वारिका चौलागाईं र म थियौं । हामीमाथि शिवपुरी राष्ट्रिय निकुञ्जमा कुटी निर्माणका क्रममा जङ्गल फडानी गरेको आरोप लागेको थियो ।
उक्त सूचना पाउँदा म कुनै शास्त्र पढिरहेको थिएँ । अचानक यो खबर सुन्दा मेरो अनुहारमा आएको परिवर्तन गुरुदेवले विचार गरिरहनुभएको रहेछ । ‘म तेरो अनुहारमा आएको परिवर्तन हेरिरहेको थिएँ ।’ गुरुदेवले मलाई भन्नुभयो । हामीलाई के लाग्यो भने, ‘जङ्गल फडानीको कसुरमा अब हामीहरु निकै दिन जेल पर्ने भयौं ।’ त्योभन्दा अगाडि चार दिन त्यहाँ रहँदाको प्रति व्यक्ति दिनको रु ३० का दरले एकजनाको रु १२० सिदा खर्च हामीले बुझिलियौं र डिल्लीबजार सदरखोरका लागि कागजी प्रक्रिया पूरा भएपछि चलान भयौं । संयोग कस्तो पर्यो भने जुन चालकले चलाएको निकुञ्जको गाडीमा हामी डिल्लीबजार जाने भएका थियौं, उनी पहिले हाम्रै आश्रमका कर्मचारी र धेरै दिनसम्म उनले हामी आश्रमवासीलाई खाना पकाएर ख्वाएका थिए । ती चालकका पिताजीलाई पनि गुरुदेव चिन्नुहुन्थ्यो । यहाँ भान्से भएर काम गर्दा गुरुदेवकै आग्रहमा उनले गाडी सिकेका थिए । आश्रममा भएको हाम्रो पुरानो भक्स वेगन गाडी चलाउँदा चलाउँदै उनी सिपालु भइसकेका थिए । हामीलाई डिल्लीबजार लिएर जाँदा उनी दुःखी र चुपचाप थिए । गाडी हाम्रो आश्रमको छेउ हुँदै जान पर्थ्यो । मैले आश्रमतिर एक नजर लगाएँ । यहीं काम गर्ने बालकुमारी दिदीले हामीलाई गाडीमा तलतिर लगेको देख्नुभयो । दिदी भन्नुहुन्थ्यो, ‘म त खप्न नसकेर शौचालयभित्र पसेर धेरै बेर रोइरहें ।’ यहाँ सबैको अनुमान के रहेछ भने हामीलाई हत्कडी लगाएर राखिएको छ । अलिक तल यहीं काम गर्ने अर्जुन थापा आश्रमको गाई चराइरहेका थिए । आश्रमको क्षेत्र पार गरिसके पछि गुरुदेवले भन्नुभयो – ‘आश्रमका प्रति हाम्रो ठूलो मायामोह थियो । This must be a bombardment of our attachment to the Ashram’ (आश्रमप्रति हामीहरुको आशक्तिको विरुद्ध यो आक्रमण नै हो।)
तीनजना दारी कपाल पारेका साधु जोगीहरु अचानक जेलभित्र प्रवेश हुनु त्यहाँ भएका कैदीहरुका लागि अनौठो विषय थियो । हाम्रो रुप र भेषभूषा देखेर एकजनाले भने, ‘तीनवटै देउतै देउता आएछन् ।’ जेलमा गुरुदेवलाई पहिले नै भेट गरेका मानिसहरु पनि रहेछन् । तिनीहरु मध्ये एकजनाले प्रतिक्रिया जनाए, ‘हरे कस्तो दिन पनि देख्नुपर्यो। स्वामी चन्द्रेश पनि जेलमा …..!’ त्यहाँ भएका कैदीहरुले हामीहरु किन जेल परेका, हाम्रो अपराध के हो भन्नेबारे सोधी खोजी गर्न थाले । जेलभित्र पसिनसक्दै गुरुदेवको नाम माइकबाट बज्न थालेको थियो । जेलमा भएका मानिसहरुका साथमा भेट गर्नका लागि यसै गरेर माइकबाट सूचना गरिँदो रहेछ ।
जेलको जीवन सजिलो कहाँ हुनु ? त्यहाँ बस्ने ठाउँको कुनै बन्दोवस्त नै हुँदो रहेनछ । त्यहाँ भएका नाइकेमध्येका एकजनाले हामीलाई एउटा कुनामा ओछ्याइएको गुन्द्री देखाएर ‘यहीं हो तपाईंहरुको सुत्ने ठाउँ’ भने । पहिलो दिन नै एकजना अमेरिकी नागरिकका साथमा गुरुदेवको परिचय भयो । गुरुदेवसँग एकछिनको कुराकानी पछि उनी प्रभावित भए । उनले आफ्नो ओछ्यान गुरुदेवका लागि छोडिदिए । उनको ओछ्यान खाटमा थियो । द्वारिकाजी र म भनें त्यही चिसो भूइँमा सुत्ने भयौं ।
त्यहीं जेलको मेसमा खाना पाक्दो रहेछ । कसैले आफैंले पकाएर खान्छु भन्दाखेरि त्यसो पनि गर्न पाउने रहेछन् । त्यहाँ एकजना व्यापारिक घरानाका दाजुभाइ नै भ्रष्टाचार सम्बन्धि मुद्दामा जेलमा परेका थिए । हामी केटाकेटी हुँदा टेलिभिजनमा उनीहरुको साबुनको विज्ञापन खूब बज्ने गर्दथ्यो । हामी तीनै जनाको खानाको जिम्मा उनीहरुले नै लिए । उनीहरुको खाना मीठो र घरबाट नै तयार भएर आउँथ्यो ।
जेलभित्रको पुस्तकालयमा आश्रमबाट प्रकाशित भएका पुस्तक र यहाँबाट निस्कने ‘वैश्वानर वार्ता’ नामक पत्रिका पनि रहेछ । त्यहाँका कैदीहरुले पनि आध्यात्मिक साहित्य पढ्दा रहेछन् भन्ने हामीलाई थाहा भयो ।
जेलमा क्षमताभन्दा बढी कैदीहरुलाई कोचेर राखिएको हुँदो रहेछ । अपराधी न परे तिनलाई दया र मानवता कसले र किन देखाउने ? मानिसको भीडले त्यो ठाउँ एककिसिमको अस्तव्यस्त बजार जस्तै लाग्ने । पानी र सरसफाइ सन्तोषजनक थिएन । त्यहाँ गएको केही दिनमा नै मलाई खाना खान र राति निद्रा नलाग्ने समस्या शुरु भयो । सायद यसको कारण चिसो भूइँमा सुतेकाले हुनुपर्दछ । द्वारिकाजीलाई पनि यस्तै भयो तर उहाँलाई मभन्दा अलिक कम ।
यो क्रम बढ्दै जाँदा एकदिन म राति पिसाब गर्न निस्किएको बेला शौचालयमा बेहोश भएर ढलें । हतार हतार मानिसहरुले मलाई बोकेर ओछ्यानमा लगेर राखिदिए । ओछ्यानमा गए पनि निद्रा लागे पो ! कहिले कहिले छ्याङ्गै रात कट्थ्यो । निद्रा लागे पनि पातलो लाग्थ्यो । छटपटी भइरहने ।
म चिन्ताले वेहोस भएर ढलेको भनेर गुरुदेवले मलाई भोलिपल्ट तेल मालिस गर्न लगाउनु भयो । उहाँलाई कताकता म डरपोक भएको जस्तो लागेछ होला । साहसी हुनका लागि हौसला दिनुभयो। बिभिन्न महापुरुषहरुले जीवनमा पाएका दुःख र तिनका सङ्घर्षका कथाहरु सुनाउनु भयो । म भने दिन परदिन बिमारीले झन् झन् गल्न थालें ।

गुरुपूर्णिमाका अवसरमा बुढानीलकण्ठस्थित आश्रममा चन्द्रेश स्वामीको पूर्जाअर्चना गर्दै भक्तजनहरु।
यो बिमारी बढेर हामी जेलबाट छुटेपछि मलाई झन् साह्रो भयो । राति प्याक प्याक तिर्खा लाग्थ्यो । चिऽसो पानी खाने इच्छा हुन्थ्यो । एकदिन बेहोसीकै जस्तो अवस्थामा मलाई अस्पताल लगियो । टाइफाइड भएको रहेछ । टाइफाइड निकै नै बिग्रिइसकेको रहेछ । २०/२५ दिन अस्पतालमा बसें । कोलोनोस्कोपी गर्दा आन्द्रामा गोलाकार खालको घाउ भएको देखियो । तरर रगत आउँथ्यो । त्यो विमारीबाट तङ्ग्रिन मलाई लामो समय लाग्यो ।
जेलको वातावरणमा कसैले पनि उत्साह र प्रेरणाको कुरै गर्दैन थिए । कसैमा कुनै हौसला थिएन । सबैको बोलीमा एक किसिमको तिक्तता, गुनासो र दिग्दारी देखिन्थ्यो । आफूले सजाय पाउनमा उनीहरु कसै न कसैलाई दोष दिइरहेका हुन्थे । केही लागेन भने सरकार, व्यवस्था, न्यायालयकै कुरा काटेर भए पनि समय व्यतीत गर्दथे । त्यहाँ कोही आजीवन, कोही दश वर्ष, कोही पाँच वर्ष जेल परेका थिए । जो यत्रो लामो समय यही जेलमा नै बिताउने छन् उनीहरुको मनमा हौसला पनि के हुनु ? उसको बाँच्नुको उमङ्ग नै धराशायी भइसकेको हुन्छ ।
अपराधी भइसकेपछि बाहिरी संसारले पनि उनीहरुलाई त्यागिदिन्छ । पछि हुँदै गएपछि कोही भेट गर्न पनि आउँदैनन् । आफ्नो मनको उकुसमुकुस साटासाट गर्ने कोही पनि नपाउँदा मानिसले त्यसै नै हरेस खान्छ । त्यस क्षणमा आफैंभित्र गुम्सिएर बाँच्नु बाहेक अरु उपाय पनि के होला ?
अपराधी भइसकेपछि बाहिरी संसारले पनि उनीहरुलाई त्यागिदिन्छ । पछि हुँदै गएपछि कोही भेट गर्न पनि आउँदैनन् । आफ्नो मनको उकुसमुकुस साटासाट गर्ने कोही पनि नपाउँदा मानिसले त्यसै नै हरेस खान्छ । त्यस क्षणमा आफैंभित्र गुम्सिएर बाँच्नु बाहेक अरु उपाय पनि के होला ?
अर्को कुरा कैदी कैदीमा पनि कतिपयले एक अर्कालाई पूर्ण विश्वास गर्दा रहेनछन् । कसैलाई पुलिसको जासुस, कसैलाई गृहमन्त्रालयले राखेको जासुस, कसैले त्यहाँका कैदीहरुको गतिविधि विचार गर्न जेलले नै राखेको जासुस भनेर एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा रहेछन् । समग्र रुपमा त्यहाँको वातावरण नै पूरै नकारात्मक र निराशाजनक ।
कसै कसैले समय कटाउन व्यायाम गर्ने, दौडिने, टेबल टेनिस, क्यारेमबोर्ड, चेस पनि खेल्ने गर्दा रहेछन् । राति आठ बजेपछि सबैजना ओछ्यानमा गईसक्न पर्नेरहेछ । त्यसपछि भेटघाट र आपसमा कुराकानी गर्न पूर्ण मनाही हुन्थ्यो । राति सबैजना सुतिसकेपछि नाइकेले नाम बोलाएर हाजिर गर्दा रहेछन् । एउटा अचम्मको नियम भने त्यहाँ नाइके भइसकेपछि दिउँसो एकजना पुलिसलाई साथमा लिएर घुम्न जान पनि पाइँदो रहेछ । हामी जेलबाट छुटेपछि हामीलाई खाना ख्वाउने ती व्यक्ति गुरुदेवलाई भेट गर्न आश्रममा नै आएका थिए ।
जेलमा प्रवचन
जहाँ बसे पनि मानिसले आफूले जानेको सीप र क्षमतालाई छाड्न सक्दैन । कतिपय लेखकहरुले जेलमै लेखेका कृतिहरु अमर भएका छन् । जेलमा बसेका बेलामा पनि गुरुदेव मानिसहरुका साथमा धर्मचर्चा नै गर्नुहुन्थ्यो । कैदीहरुलाई ध्यान पनि सिकाउनु भयो । गुरुदेवले पनि आश्रमबाट भायलिन मगाउनु भयो । त्यहीं भायलिन बजाएर आफूले रचना गरेका गीतहरु गाएर सुनाउनु हुन्थ्यो ।
हामी गएको केही दिनमा नै शिवपुरीमा कुटी बनाउन काम गर्ने पाँचजना मानिसहरु ग्वारग्वार्ति जेलभित्र प्रवेश गरे । यी मध्ये एकजना साह्रै वृद्ध भइसकेका थिए भने अर्का एकजना अलिक शुष्क मनस्थितिका जस्ता लाग्थे । अर्का एकजनाले त भर्खर सुत्केरी भएकी जहानलाई घरमा छाडेर आएका थिए । त्यहाँभित्र आएपछि उनीहरुको पनि खानपिन, सुत्ने बस्ने बन्दोबस्त गर्ने हामीले नै जिम्मा लियौं ।
त्यहाँ भएका सबै मानिसको माग एकदिन गुरुदेवको प्रवचन कार्यक्रम राख्ने भन्ने भयो । गुरुदेव पनि त्यसका लागि तयार हुनुभयो । प्रवचनको दिन बेलुका सबैजना खाना खाइसकेपछि बाहिर जम्मा भए । जेलभित्रको मन्दिरको छेउमा नै बसेर गुरुदेवले प्रवचन दिनुभयो । गुरुदेवले प्रवचनको शुरुमा नै भन्नुभयो – वास्तविक अपराधिहरु त बाहिर खुलेआम घुमिरहेका छन् । यहाँ जो जति छन् ती सबै त अपराधी भनेर फसाइएका हुन् । धेरै कम मानिसहरु जन्मजात नै अपराधि हुन्छन् । धेरैजसो मानिसहरु त परिस्थिति र परिवन्दमा परेर अपराधी बन्दछन् । जेलको वातावरणले मानिसलाई सुधार्ने होइन कि मानिसलाई झन विद्रोही बनाइदिन्छ र बाहिर निस्किएपछि बदलास्वरुप उसले फेरि अर्को अपराध कर्म गरिहाल्दो रहेछ ।” मानिसहरुलाई खूब घत लागेछ क्यार ‘होऽऽ’ भनेर सबैले ताली बजाए । गुरुदेवको भनाइमा जीवनमा सानोतिनो अपराध कर्म सबैले गरेको हुन्छ । यसका बारेमा उहाँले एउटा कथा सुनाउनु भयो ।
– एउटा देशमा चारजना चोरहरुलाई पुलिसले पक्राउ गरेछन् । अदालतमा विचार गर्दा उनीहरुको कसुर गम्भिर खालको भएकोले फाँसीको सजाय सुनाइएछ । फाँसी दिनुभन्दा अगाडि ती चोरहरुलाई अन्तिम इच्छा केही छ, केही भन्नु छ भनेर सोधिएछ । तिनीहरुमा एउटा बूढोचाहिं चोरले पुलिससँग भनेछ, ‘हजूर हामी त मरेर गइहाल्छौं । तर मसँग एउटा गोप्य विद्या छ । म चाहन्छु यो विद्याबाट हाम्रो देश र जनताले फाइदा पाउन् ।’
– के हो त्यस्तो विद्या ? पुलिसले सोधेछन् ।
– मसँग विशेष खालको तोरीको बिउ छ । त्यो बिउबाट उम्रिएको तोरीमा सुनै सुन फल्छ । म त्यो कुरा हजूरहरुलाई सिकाउन चाहन्छु ।
बूढो चोरको सल्लाह अनुसार त्यो तोरीको बीउ रोप्नका लागि खनखान गरेर, मल हालेर जमिन तयार पारियो । तोरी छर्नका लागि विशेष तिथी र साइत पनि जुराइयो । त्यो दिन त्यो विशेष घटना हेर्नका लागि त्यस देशका राजा, प्रधानमन्त्री, प्रधान सेनापति, अन्य विशिष्ट भारदारहरु आदि सबैलाई विशेष निम्ता गरियो । सबैजना उत्सुकताकासाथ कार्यक्रममा उपस्थित भए ।
तोरी छर्ने समय आएपछि चोरले भने ।
– हजूर यो तोरीको बीउ छर्नका लागि एकजना शुद्ध मानिसको आवश्यकता पर्दछ । जसले जीवनमा एकपटक पनि चोरी गरेको छैन उसैले यो तोरीको बीउ छर्नु पर्छ । अरुले छ¥यो भने यो बीउ उम्रदैन । यहाँ सबैजना यो देशका मुख्य व्यक्तिहरु आउनुभएको छ । यहाँहरु त कसैले जीवनमा एकपटक पनि चोरी गर्नु भएको छैन होला । हजूरमध्ये कसैले पनि यो तोरीको बीउ छरिदिए हुन्छ ।” भनेर त्यो बूढो चोरले एउटा पोकामा राखेको तोरीको बीउ अगाडि सारिदिए ।
कार्यक्रममा उपस्थित कसैले पनि त्यो तोरीको बीउ उठाउने आँट गर्न सकेनन् । सबैले एक अर्काको मुख ताक्न थाले । त्यसपछि ती बूढा चोरले भने
– यहाँ म मात्रै चोर भनेको त सबैजना नै चोर हुनुहँदो रहेछ । खालि मेरो चोरी पक्राउ पर्यो । तर यहाँहरुले चोरेको अरु कसैले देख्न पाएन । तर स्वयं आफूलाई त ढाँट्न सकिंदैन । त्यसो भए हामीलाई मात्र किन यत्रो सजाय !”
ती बूढा चोरको बुद्धिमानी सबैलाई थाहा भयो । राजाले सजाय त होइन उनलाई त्यसपछि मन्त्रीेका पद दिएर पुरस्कृत गरे ।’
त्यो वर्षको तिहार हामीले जेलमा नै मनायौं । जेलका कैदीहरुले त्यहींभित्र देउसी खेले । जहाँ भए पनि मानिसले आफ्नो धर्मसंस्कृतिलाई त्याग्न सक्दो रहेनछ । यिनै चाडवाड र धर्मसंस्कृतिले मानिसलाई आफ्नो व्यथा भुल्न र एक हुन सहयोग पुर्याउँदा रहेछन् ।
सजाय र पुरस्कार
कहिलेकहिले जीवनमा दुईवटा परस्पर विरोधी घटनाहरु एकैपटक घट्दा रहेछन् । हामी जेलबाट छुटेको भोलिपल्ट नै बूढानीलकण्ठ पुलिस चौकीबाट एकजना सिपाही गुरुदेवको सोधिखोजी गर्दै बूढानीलकण्ठ आश्रममा आइपुगे ।
पुलिसलाई देख्नासाथ गुरुदेवले सोध्नुभयो – भाइ म त भर्खर जेलबाट छुटेर आएको । तिमी फेरि मलाई पक्रन आएको हो ?”
– होइन हजूर । म त एउटा चिठी लिएर आएको ।’ भनेर ती सिपाही चिठी बुझाएर फर्किएर गए ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले त्यस वर्षको योगमाया राष्ट्रिय समाज सेवा पुरस्कारले बूढानीलकण्ठ आश्रमलाई सम्मान गर्न लागेको वेहोरा चिठीमा उल्लिखित थियो ।
केही दिनपछि गुरुदेवले नै त्यो सम्मान ग्रहण गर्नुभयो ।
२०८० चैत्र २१, बूढानीलकण्ठ