
काठमाडौं- १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसकाे अवसरमा काठमाडौंमा र्याली निकालिएकाे छ।
नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र राप्रपा निकट ट्रेड युनियनले संयुक्त रूपमा र्याली निकालेका हुन्।
पुरानो बसपार्कमा जम्मा भइ सुरु भएकाे र्याली भृकुटीमण्डपमा पुगी सभामा परिणत भएकाे थियाे।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएकाे हाे।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो।
श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। यस वर्षकाे नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’
भन्ने रहेकाे छ।
विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो।
विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।
तस्बिरहरू: