
मृगनयनी- हामीले राम्रो आँखा भएकी महिलालाई यसरी सम्बोधन गरेको सुनेका छौं। मृगनयनी अर्थात मृगको जस्तो नयन/आँखा भएकी, याने ठूलठूला आँखा भएकी। ठूलो आँखाको बारेमा एक गीत याद आउँछ: ‘गाजलु ती ठूला ठूला आँखा, तिर बनी पस्यो यो दिलैमा।’ एकजना लाखे अंकल हुनुहुन्थ्यो बाल्यकालमा, उहाँलाई मेरो आँखा राम्रो लाग्थ्यो रे ठूला भएर। ठूला आँखालाई सुन्दर मान्ने गरिएको छ, त्यो निर्विवाद हो, तर के ठूला आँखा हुनु स्वास्थ्यको हिसाबले राम्रो हो त? आज यसबारेमा केही लेख्ने जमर्को गर्दैछु।
बच्चा जन्मिँदा आँखाको आकार अन्दाजी १६.५ मिलिमिटर (मिमी)को हुन्छ भने सामान्य वयस्क मान्छेको आँखाको आकार अन्दाजी २४ मिमीको हुन्छ। भर्खर जन्मेको बच्चाले साधारण उज्यालो बाहेक अरु केही देख्दैन। तर २-३ महिना पुग्दा बच्चाले आमाको अनुहारसम्म देख्न सक्ने र आमालाई देख्दा मुस्काउने गर्न थाल्छ, यदि यसो नभएमा बच्चाको देख्न सक्ने शक्तिको जाँच बिशेषज्ञद्वारा गराउनु पर्छ। आँखाको देख्न सक्ने शक्तिलाई “स्नेलेन चार्ट” द्वारा जाँच गरिन्छ, यदि ६/६ छ भने सामान्य मानिन्छ। साना बच्चालाई चार्टद्वारा जाँच गर्न सकिने कुरा भएन तर बिशेषज्ञले जाँच गरेर मोटामोटी यति दृष्टि छ भनेर भन्न सकिन्छ तथा जसै बच्चा ठूलो हुँदै जान्छ दृष्टि जाँच गर्न सहज हुँदै जान्छ। बच्चाले साधारणतया २-३ बर्षको उमेरमा ६/६ दृष्टि हासिल गर्छ। अनि बच्चा, जसको आँखा जन्मिने बेलामा आकार अन्दाजी १६.५ मिमीको थियो साधारणतया करिब ७ बर्षको उमेरमा २४ मिमी जति आकारको हुन्छ। तथापि धेरैको आँखाको आकार १८-२० बर्षको उमेरमा गएर स्थायी हुन्छ। त्यसैले यदि बच्चाको आँखा सामान्य भन्दा ठूलो छ भने एक पटक बिशेषज्ञसँग जाँच गराउनु ठीक हुन्छ। जन्मजात अथवा बाल्यकालमा हुने जलबिन्दु जुन की बास्तबमा बिरलै हुन्छ, त्यस्मा पनि बच्चाको आँखा सामान्य भन्दा ठूलो हुन्छ, त्यसैले बाल्यकालमा “गाजलु ती ठूला ठूला आँखा” समस्याको संकेत हुन सक्छ।
प्रत्येक बच्चालाई पहिलोपटक बिद्यालयमा भर्ना गर्नु अगाडि प्रत्येक अभिभावकले आँखा अनिवार्य जाँच गराउनु पर्छ साथै भर्ति गर्ने बिद्यालयले पनि बच्चाको आँखा जाँच भएको रिपोर्टको माग गर्नैपर्छ।
अब कुरा गरौं चश्मा प्रयोग गर्ने बच्चाहरुको, के उनीहरुको आँखा सामान्य आकारको हुन्छ अथवा सानो या ठूलो? माथि उल्लेख भई नै सक्यो आँखाको सामान्य आकार २४ मिमीको हुन्छ तर भर्खर जन्मेको बच्चाको आँखा करिब १६.५ मिमीको। हो आँखा सामान्यभन्दा सानो या ठूलो भएमा चश्मा प्रयोग गर्नु पर्ने हुन्छ। त्यसो भन्दैमा जन्मिनासाथ बच्चाको आँखा सानो छ भनेर चश्मा पक्कै प्रयोग गरिदैन, यसैमा बाल बिषेशज्ञको जाँचको महत्व हुन्छ, उहाँले बच्चालाई समय समयमा जाँच गर्दा शरिरका सबै अंशहरुको विकास ठीक तरिकाले भएको छ/छैन, साथै बच्चाले उमेर अनुसार पाउनु पर्ने खोपहरु पाएको छ/छैन, ईत्यादि जाँच गर्नु हुन्छ अनि आवश्यकता अनुसार विभिन्न, अन्य बिषेशज्ञहरुकहाँ जाँच गर्न सिफारिस गर्नुहुन्छ।
आँखा सामान्य भन्दा सानो भएमा + (प्लस) चश्मा र आँखा सामान्य भन्दा ठूलो भएमा – (माइनस) चश्मा प्रयोग गर्नु पर्छ। प्लस चश्मा प्रयोग गर्नुपर्ने अवस्थालाई Hypermetropia र माइनस प्रयोग गर्नु पर्ने अवस्थालाई Myopia भनिन्छ। चश्मा लगाउन आवश्यक भएका बच्चाहरुले यदि समयमा चश्मा प्रयोग नगरेमा पछि चश्मा प्रयोग गरे पनि आँखाले पूर्णरूपमा नदेख्न सक्छ, यस्लाई Amblyopia अथवा साधारण भाषामा Lazy eye, अल्छी आँखा भन्न सकिन्छ। Amblyopiaको उपचार नभएको होइन तर चश्मा प्रयोगमा ढिलाइ भएमा उपचार गर्दापनि सुधार नभएका थुप्रै बच्चाहरु हामीले देखेका छौं। तसर्थ प्रत्येक बच्चालाई पहिलोपटक बिद्यालयमा भर्ना गर्नु अगाडि प्रत्येक अभिभावकले आँखा अनिवार्य जाँच गराउनु पर्छ साथै भर्ति गर्ने बिद्यालयले पनि बच्चाको आँखा जाँच भएको रिपोर्टको माग गर्नैपर्छ। मेरो बाल्यकालमा लाखे अंकलले मेरो आँखा ठूलो भएको, राम्रो भएको जुन भन्नू भएको थियो त्यो सत्य रहेछ, पछि मैले माइनस चश्मा प्रयोग गर्नुपर्यो। आँखा ठूलो हुनुले पक्कै पनि सुन्दरताको बृध्दि गर्छ तर यदि कुनै बच्चाको आँखा उसका साथीभाइको तुलनामा सानो या ठूलो छ भने एक पटक समयमै बिषेशज्ञ जाँच गराउँदा अन्ततोगत्वा आँखाको रोशनी राम्रो हुनमा मद्दत गर्छ।
(देउजा नेत्ररोग विशेषज्ञ हुन्। उनले जलबिन्दुमा विशेष तालिम लिएका छन्।)