
पोखरा- शुक्रबार पोखराको वायु प्रदुषण यो साताकै उच्च देखिएको छ । अन्तर्राष्ट्रिय वायु जाँच गर्ने संस्था आईक्यूएयरको तथ्याङक अनुसार शुक्रबार दिउँसो पोखराको वायुको गुणस्तर इन्डेक्स (एक्युआइ) २११ सम्म देखाएको छ ।
वायु प्रदुषणले पोखरा धुमिलो देखिएको छ । तुवाँलोले पोखरा वरपरका डाँडाकाँडा देख्न मुस्किल भएको छ ।
एक सातादेखि नै पोखराको वायु प्रदुषण बढेको छ । शनिबार पोखराको वायु प्रदूषण इन्डेक्स २०८ एक्वुआइसम्म पुगेको थियोे । आइतबार १६७, सोमबार १७२, मंगलबार १७५, बुधबार १५१, बिहीबार १५४ एक्युआइ मापन भएको छ ।
पोखराको वायु प्रदुषण अप्रिल १८ देखि निकै बढिरहेकोे छ । वायुको एक्युआइ ० देखि ५०० सम्म मापन गरिन्छ । स्वस्थकर हुनलाई वायुको एक्युआइ ५० भन्दा तल हुनुपर्छ ।
वायु प्रदुषण बढेर मौसम नखुल्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । शुक्रबार विहान यति र बुद्व एयर पोखराबाट काठमाडौं फर्किएका थिए । अहिले पोखराबाट उडान ठप्प रहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अपरेशन शाखाका प्रमुख योगेन्द्र कुवँरले बताए । ‘अहिलेको भिजिबिलिटी १५०० मिटरमात्रै छ,’ उनले भने । उनका अनुसार पोखरामा अवतरणका लागि ३५०० मिटर र उडानका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक हुन्छ ।
गएको शुक्रबारदेखि नै उडान प्रभावित भइरहेको छ । शुक्रबार र शनिबार उडान ठप्प हुँदा आइतबार दिउँसो १ बजेपछि ९ वटा मात्रै उडान भयो । सोेमबार र मंगलबार पनि उडान हुन सकेन । बुधबार मौसम केही खुलेपछि १ बजेपछि उडान सुरु भएको थियो । बिहीबार नियमित उडान भएपनि मौसममा आएको खराबीले शुक्रबार फेरि ठप्प भएको छ ।
लामो समयको खडेरी र वनजंगल डढेलोको कारण पोखराको वायु निकै प्रदुषित भएको वायु प्रदूषणमा विद्यावारिधि गरेका गण्डकीको नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी बताए ।
‘वायुमण्डमा धुवाँ र धुलोको ब्ल्यांकेट भएर बसेको छ,’ उनले भने । पानी परेपछि वायुमण्डल सफा हुने उनको भनाइ छ । पोखरा आसपासमा डढेलो निकै बढिरहेको छ । गएराती मात्रै सराङकोटको जंगलमा भीषण आगलागी भएको थियो ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको धुलोले पनि उस्तै प्रदुषण बढाइरहेको छ ।
थप तस्बिरहरू: